• ३ असोज २०८२, शुक्रबार

‘जेन–जी पुस्तासँगै सम्पूर्ण नेपालीको समुन्नतिको आकांक्षा पुरा होस्’

blog

कालीबाबा । फाइल तस्बिर

काठमाडौँ, असोज ३ गते। धार्मिक अभियन्ता श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास (कालीबाबा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ। 

कालीबाबाले भिडियो सन्देश जारी गर्दै जेन–जी आन्दोलनको जगमा पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा निर्वाचन गर्ने, जेन–जी पुस्तासँगै सम्पूर्ण नेपालीको आकांक्षा पुरा गर्न अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ। 

उहाँले प्रधानमन्त्री कार्कीसँगै नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रको हितलाई दृष्टिगत गरी नेपाललाई उन्नतिको पथमा अघि बढाउन देशभक्त भएर काम गर्न आग्रह गर्नुभएको छ। उहाँले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि शक्तिशाली आयोग बनाएर छानबिन गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ। 

उहाँले भन्नुभएको छ, “मातृशक्ति, पूर्व प्रधानन्यायाधीश, सच्चा राष्ट्रसेवक सुशीला कार्की नेतृत्वको सरकारले देशलाई शीघ्र शान्ति कायम गर्न सफल हुनेछ। देशमा शान्ति, समृद्धि, एकता र अखण्डता बलियो बनाउँदै समुन्नत राष्ट्र बनाउने लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्ने छ। भ्रष्टहरूलाई कारबाही गरेर अन्तर्राष्ट्रिय रुपमा उदाउँदो देशका रुपमा नेपाल स्थापित हुनेछ।” 

कालीबाबाले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आगामी दिनमा नेपालले शान्ति, समुन्नति, आर्थिक विकास र रुपान्तरणको इतिहास निर्माण गर्दै सुन्दर शान्त र उन्नत राष्ट्रको इतिहास निर्माण गर्ने र यसका लागि आधारभूत तहका नागरिकलाई विश्वासमा लिएर आर्थिक, सामाजिक क्षेत्रसँगै अन्तर्राष्ट्रिय जगतलाई पनि विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको छ। 

कालीबाबाले जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले  विभिन्न अस्पतालमा उपचाररत घाइते युवाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। 

उहाँले अबोध बालबालिका र निर्दोष युवा विद्यार्थीमाथि भएको हिंसात्मक आक्रमणले आफू दुःखी र मर्माहित भएको बताउँदै यो घटनाले विश्वभरका मानव समुदायमा गहिरो पीडाबोध भएको धारणा राख्नुभएको छ। उहाँले प्रधानमन्त्री कार्की नेतृत्वका सरकारले यसको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय दिएर विश्वसामु विधिको शासन र शान्तिको सन्देश दिन सक्नेमा आफू आशावादी रहेको बताउनुभएको छ।