• ३ असोज २०८२, शुक्रबार

संविधान संशोधन गर्नुपर्नेमा सरोकारवालाको जोड

blog

कार्यक्रममा आफ्ना विचार राख्नुहुँदै राजनीतिक विश्लेषक एवम् लेखक नरेन्द्रजङ्ग पीटर । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज ३ गते । नयाँ संविधान बनाउनुभन्दा वर्तमान संविधानलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । अहिले नयाँ संविधान बनाउने कि यही संविधानलाई संशोधन गर्ने भन्ने बारेमा देशैभर आवाजहरु उठिरहेका बेला नेपालगन्जका सरोकारवालाहरुले आवश्यक ठाउँहरु यसै संविधानलाई संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

संविधान दिवसका अवसरमा शुक्रबार नेपालगन्जमा आयोजना गरिएको ‘११औँ संविधान दिवस बदलिँदो परिस्थितिमा नागरिकको भूमिका’ विषयक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले हालको संविधानअन्तर्गत रहेर संविधानका आवश्यक बुँदाहरु संशोधन गर्न सकिनेमा उनीहरुले जोड दिएका हुन् ।

राजनीतिक विश्लेषक एवम् लेखक नरेन्द्रजङ्ग पीटरले हालकै संविधानलाई राम्रोसँग चलाउन र प्रयोग गर्न सकेमा नयाँ संविधान बनाउन आवश्यक नरहेको बताउनुभयो । उहाँले संविधानलाई नमान्दा, गलत तरिकाले आफूअनुकूल चलाउन खोज्दा अहिलेको जेनजी आन्दोलन जन्मिएको र विष्फोट भएको उल्लेख गर्दै भावना र आवेगमा आउन नहुने बताउनुभयो । जेनजीका काँधमा बन्दुक राखेर कस कसले के के गरे भन्ने कुरा खोजतलास गरेर कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जेनजीको आन्दोलन व्यवस्था परिवर्तनका लागि नभएर अवस्था परिवर्तनका लागि भएको भन्दै परिवर्तित अवस्थामा जेनजी आन्दोलनले उठाएका सकारात्मक र प्राप्त विचार र विषयहरुलाई समेट्नुपर्ने बताउनुभयो । 

संविधानको मूल मर्मलाई प्रभाव र असर नपार्नेगरी जेनजीले उठाएका मुद्दाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा वृहत् छलफल हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । वर्तमान संविधान उत्कृष्ट भनिँदै आइएको तर कार्यान्वयन पक्षमा कमीकमजोरी हुँदा सुधार गरेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले जेनजी आन्दोलनका क्रममा बाँकेले धेरै मात्रामा भौतिक संरचना मात्र नभएर मानवीय क्षति पनि व्यहोरेको भन्दै नागरिक समाज बढी जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

अधिवक्ता विश्वजित तिवारीले २०८० भदौ २४ गते सर्वोच्च अदालतले हरेक नागरिकका हातमा नेपालको संविधान पुग्नुपर्ने भन्ने भएको फैसलाको दुई वर्षसम्म पनि कार्यान्वयन नभएको उल्लेख गर्दै संविधान खराब नभएर संविधान चलाउने र कार्यान्वयन गर्ने पक्षमा कमजोरी रहेको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनको माग संविधान खराब भएको भन्ने नभएको भन्दै संविधानभित्रका गलत बुँदाहरुलाई आवश्यक संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

अधिवक्त पदम पाण्डेले संविधानले भनेको निर्वाचन सुधार आयोग कहिले पनि गठन नभएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न क्षेत्रमा देखिएका अप्ठ्यारा परिस्थितिमा शक्ति सन्तुलित गरेर अगाडि बढ्नुपर्ने र प्रशासनिक सुधारतर्फ पनि ध्यानदिन आवश्यक रहेको बताउनुभयो ।

पत्रकार शरण कर्माचार्यले नागरिक समाज, पत्रकार, वकिल, बुद्धिजीवी, राजनीतिक दल लगायतका सबै फोरमहरुमा एउटै अनुहार देखिने गरेको भन्दै एउटै व्यक्ति जताततै हुँदा समाजले पनि विश्वास गर्न छाडिसकेको बताउनुभयो । उहाँले जेनजी आन्दोलन आन्दोलनमात्रै नभएर गलत प्रवृत्तिविरुद्धको विद्रोह र अभियान भएको बताउनुभयो ।

नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले देशमा भ्रष्टाचार भयो, अमनचयन भएन, सुशासन भएन भन्दै नागरिक समाजले पहिल्यैदेखि आवाज उठाउँदै आएपनि अहिलेको जेनजी आन्दोलनले यही मुद्दाहरु उठाएर अवस्था परिवर्तन हुन सकेको बताउँदै जेनजीका मुद्दाहरु नागरिक समाजका पनि भएकाले यी मुद्दामा सबैको समर्थन रहेको बताउनुभयो । 

अधिकारकर्मी प्रकाश उपाध्यायले २०७२ को संविधानले नागरिकको हकअधिकार सुनिश्चित गरेको भन्दै अहिलेको माग संविधान परिवर्तन नभएर संशोधनको भएको बताउनुभयो । उहाँले जनताले आफैँले बनाएको संविधान उत्कृष्ट रहेको भन्दै आवश्यक केही बुँदाहरु फेरबदल गरेर अगाडि बढ्न सुझाव दिुनभयो।

कार्यक्रममा अधिवक्ता इश्वरी ज्ञवाली, पत्रकार विजय मल्ल, अधिकारकर्मी कमला पन्त, विनोद थापा, मो. अयुव सिद्दिकी, गैसस महासंघ बाँकेका सचिव रमेश सिटौला, वेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रतीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

उच्च अदालत बार एसोसिएसन नेपालगन्ज, बाँके जिल्ला बार एसोसिएसन, एड्भोकेसी फोरम, नेपाल पत्रकार महासंघ बाँके, मानवअधिकार सङ्गठन नेपालगन्ज, पीआइएल लयर्स ग्रुप नेपालगन्ज, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र, गसस महासंघ नेपालगन्ज, इन्सेकले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए ।