सुधा देव
भारदह(सप्तरी), असोज ३ गते । जेनजीको प्रदर्शनपछि वातावरण सहज भए लगत्तै राजविराजस्थित रहेको उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतका कर्मचारीहरू तीव्र रूपमा सरसफाइमा जुटेका छन् ।
अहिले यी अदालतमा अत्यावश्यक काम बाहेकका सेवा बन्द गरेर उनीहरू सरसफाइमा जुटेका हुन् । आन्दोलनको क्रममा उच्च र जिल्ला दुवै अदालतमा प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र लुटपाट गरेपछि उच्च अदालतमा आंशिक क्षति भए पनि जिल्ला अदालतमा बढी क्षति भएकाले सरसफाइ गर्न समय लागेको सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जानकारी दिनुभएको छ ।
अदालतभित्र र अदालत बाहिर आगजनी गरेपछि अदालतको कामकाजको प्रयोजनका लागि राखिएको, मिसिल, टेवल, कुर्सी, प्रिन्टर, ल्यापटप, दराजसहित सामग्री अदालतमा गरिएको वाइरिंग तथा गाडीहरू जलेर खरानी भएपछि कताबाट सुरू गर्ने, अन्यौलमा थियौं । सबै कर्मचारीको साथ र सहयोग पाएपछि सम्भव हुँदै गएको उहाँले जानकारी दिनुभयो ।
उच्च अदालतको रजिस्ट्रार लोकनाथ पराजुलीले आगलागी र तोडफोडकोपछि दुवै अदालतमा तत्काल सरसफाइमा चुनौती देखिएपनि सबै मिलेर लागि रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गर्नुपर्ने धेरै छ । तर, समय थोरै छ । सेवाग्राहीलाई कुनै समस्या हुन नदिन लागि दसैंको बिदामा पनि खटेर काम गर्नुपर्ने भएको छ ।’’
दुबै अदालतमा भएको आगलागीका कारण बसिनसक्नु भएकाले रङरोगन र वाइरिंग तत्काल गर्नुपर्ने आवश्यक भएको र अदालतमा बजेट नभएकाले स्रोतको खोजीमा रहेको उहाँले बताउनुभयो ।
यसैबिच उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेलसहितका न्यायाधीशको टिमले जिल्ला अदालतको अवस्था बुझ्नका लागि अनुगमन गर्नुभएको छ ।
जिल्ला अदालतको भवनको पुरानोसँगै आगलागीमा भवनमा अत्यधिक क्षति भएकाले प्राविधिकसँग जाँच गराएर मात्र मर्मत संभारको प्रक्रिया अघि बढाउन अनुगमनको क्रममा मुख्य न्यायाधीश पौडेलले सुझाव दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘पुरानो भवन त्यसमा पनि आगलागीमा झन जिर्ण भएको अवस्थामा ज्यान जोखिम राखेर काम गर्नुभन्दा पनि भवनको जाँच प्राथमिकतामा राखेर अघि बढ्नुुपर्ने आवश्यकता छ ।’’