अनिल पराजुली
हेटौँडा, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा सुशासन कायम गर्न आह्वान गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रदेशमा सुशासन कायम गर्न र दिगो विकासका लागि सरकारका हरेक निकाय, राजनैतिक दल र नागरिकले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आह्वान गर्नुभएको हो ।
नेपालको संविधान, २०७२ को कार्यान्वयन पश्चात् पनि सुशासन र विकासका क्षेत्रमा जनअपेक्षाअनुसार प्रगति हुन नसकेको कारण जनमानसमा निराशा बढिरहेको अवस्थामा भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै पछिल्लो चरणमा भएको जेनजी पुस्ताको अभियान, प्रदर्शन र मागहरूको सकारात्मक सवाललाई सम्बोधन गर्नु जरुरी रहेको बताउँदै उहाँले प्रदर्शनको क्रममा सहादत प्राप्त भएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
“संविधानले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पुरा गर्नुपर्ने भनी निर्दिष्ट गरेका जिम्मेवारीहरू बहन गर्दै राष्ट्रिय समृद्धि हासिल गर्नका लागि निर्धारित लक्ष्यहरू प्राप्तिको दिशामा अघि बढ्नुपर्ने आजको मूल आवश्यकता हो,” मुख्यमन्त्री बानियाँले भन्नुभयो । बागमती प्रदेश सरकार संविधानको मर्म र भावना बमोजिम सङ्घ र स्थानीय सरकारहरूसँग समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप न्यायमुखी, आयमुखी, सेवामुखी, गरिवमुखी, विकासमुखी, जनमुखी सरकार सञ्चालन गर्दै प्रदेशवासीहरूलाई प्रदेश सरकारको तर्फबाट प्रदान गर्नुपर्ने हक र अधिकारको सुनिश्चितता गर्दै समुन्नत बागमती प्रदेश निर्माण गर्ने यात्रामा अघि बढ्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संविधानबाट नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भई राज्य शक्तिको स्रोत नेपाली जनता भएको बताउँदै अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको स्पष्ट पार्नुभयो ।