बिकास अधिकारी
पश्चिम नवलपरासी, असोज १ गते । पश्चिम नवलपरासीको सुस्तामा बाढी पस्न थालेको छ । हिजोदेखिको अविरल वर्षाका कारण नारायणी नदीको जल सतह खतराको तहनजिक पुगेको छ । सुस्ता गाउँपालिका वडा –५ स्थित नारायणीपारीको सुस्ता गाउँको थारुटोलमा बाढी पसेको हो ।
थारुटोलमा पानी पसिसकेको र थप वर्षा भएमा दुई दर्जन घर केही समयमै डुबानमा पर्ने सुस्ताका स्थानीय मुन्सि हरिजनले जानकारी दिनुभयो । अहिले स्थानीयहरु सबै घरबाहिर निस्किएका छन् । नारायणी नदीमा अहिले प्रतिसेकेन्ड २ लाख २१ हजार क्युसेक जलप्रवाह रहेको छ । पानीको बहाव बढ्दैगएका कारण सुरक्षाकर्मीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
नारायणी नदीमा बाढी आउँदा गण्डक बाँध पश्चिमका, पश्चिम नवलपरासीमा पर्ने २२ वटा गाउँ जोखिममा पर्दछन् । पानीको बहाव बढ्नेक्रममा रहेकाले सतर्कता अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ ।