अनिल पराजुली
हेटौँडा, असोज १ गते । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधवार नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिनुभएको हो ।
भदाै २४ गते नै उहाँले सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गर्नुभएको थियो । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पुरा गर्न अनुकूल नभएपछि बुधवार उहाँले पदबाट राजीनामा गर्नुभएको छ ।
“गत भाद्र २३ गते जेन–जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भाववियोल भएँ, राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो, त्यसैले मैले पदवाट राजीनामा दिए”, उहाँले भन्नुभएको छ ।
पाठकले बुधवार उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा पत्र बुझाउनुभएको छ । पाठक राप्रपाबाट बागमती प्रदेशसभामा निर्वाचित हुनुभएका थिए । आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित जलेर ध्वस्त भएका छन् ।