• १ असोज २०८२, बुधबार

कर्णाली राजमार्गको गगनेखोलामा पहिरो जाँदा यातायात अवरुद्ध

blog

कालीकोट शुभकालिका १ गगनेखोला पहिरो पन्छाउँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट असोज १ गते ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्डको कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण राजमार्ग फेरि पूर्णरूपमा अवरुद्ध भएको छ । मङ्गलबार रातिदेखि परेको लगातारको वर्षाले पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो । शुभकालिका १ गगनेखोलामा पानी पर्ने वित्तिकै पहिरो खस्ने गरेको छ ।

सडक अवरुद्ध हुँदा कालीकोट, मुगु, जुम्ला, हुम्ला जिल्लातर्फ आउने र यहाँबाट फर्कने यात्रुहरू बाटैमा अलपत्र परेका छन् । आपतकालीन उपचारका लागि जाँदै गरेका बिरामीसहितका यात्रुहरू समेत प्रभावित भएका छन् ।

डिभिजन सडक कार्यालय, जुम्लाका अनुसार डोजर परिचालन गरी पहिरो पन्छाउने प्रयास जारी छ । तर वर्षा अझै निरन्तर भइरहेकाले सडक तत्काल खुल्न कठिन हुने कार्यालयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले यात्रुहरूलाई अनावश्यक यात्रा नगरी सतर्क रहन आग्रह गरेको छ ।

साथै बिहानैबाट पहिरो पञ्छाउने काम सुरु भए पनि पानी निरन्तर परिरहेकाले काम गर्न समस्याको भएको प्रहरीको भनाइ छ । पहिरो प्रभावित क्षेत्रमा रहनु भएका जिल्ला ट्राफिक कार्यालय कालीकोटका वातावरण शाहीले पानी परिरहेकाले पहिरो गइरहेको छ । यहाँ पानी रोकियो भने पहिरो पनि रोकिन्छ नत्र सधैँ बगिरहने भएकाले यसै यतीबेला सडक खुल्छ भनेर भन्ने अवस्था नभएको बताउनुभयो ।