भैरहवा समाचारदाता
भैरहवा, भदौ ३१ गते । यात्रुको सुविधालाई लक्षित गर्दै गौतम बुद्ध विमानस्थल भैरहवामा नयाँ आगमन कक्ष सञ्चालनमा ल्याइएको छ ।
५० वर्षअघि निर्माण गरिएको गौतम बुद्ध विमानस्थलको आन्तरिक टर्मिनल भवन साँघुरो र सुविधा अभावका कारण यात्रु तथा सेवाग्राहीले असुविधा भोग्दै आएका थिए । यात्रु सेवाको स्तरोन्नति गर्ने उद्देश्यले कार्गो भवनलाई रूपान्तरण गरी नयाँ आगमन कक्ष सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।
पुरानो भवनमा ब्यागेज बुझ्ने स्थान साँघुरो हुनुका साथै स्थान अभावका कारण ब्यागेज बेल्टसमेत प्रयोगमा ल्याउन सकिएको थिएन । यात्रुको सहयोग र स्वागतमा आउनेका लागि प्रतिक्षालय नहुँदा गर्मी, वर्षा वा हावाहुरीमा ठाउँ ठाउँमा उभिनुपर्ने बाध्यता थियो ।
अब भने नयाँ आगमन कक्ष फराकिलो कक्षसहित तयार गरिएको छ । जसमा यात्रु प्रतीक्षालय, शौचालय, पिउने पानी र सहज पार्किङ सुविधा उपलब्ध छन् । प्रस्थान टर्मिनलबाट अलग्गै भएकाले यात्रुको भिडभाड कम हुने अपेक्षा गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले काठमाडौँबाट सोमबार दिउँसो भैरहवा आइपुगेका गुल्मीका ७५ वर्षीय गणपति भण्डारीलाई पुष्पगुच्छा दिएर आगमन कक्षको सुरुवात गर्नुभएको थियो । काठमाडौँबाट बुद्ध र यती एयरलाइन्सका जहाजबाट आएका यात्रुलाई नयाँ आगमन कक्षमा स्वागत गरिएको थियो ।
यसै कक्षमा एयरलाइन्स कार्गो कुरियर सेवासमेत सहज बनाइएको छ, जहाँ प्रवेश पास र सुरक्षा जाँचको झन्झट रहने छैन । महाप्रबन्धक तिवारीले केही महिनाभित्रै ब्यागेज बेल्ट जडान गरिने योजना रहेको र पार्किङ क्षेत्रबाट आगमन कक्षतर्फ पदयात्रा मार्ग पनि यसै वर्ष निर्माण हुने जानकारी दिनुभयो ।
विमानस्थल कार्यालयका अनुसार अबको निकट भविष्यमा हालको टर्मिनल भवनलाई प्रस्थान कक्षका रूपमा मात्र प्रयोग गरिने छ । त्यहाँ थप सुविधा विस्तार गर्दै यात्रु क्षमता हालको दोब्बर हुने गरी स्तरोन्नति गर्ने तयारी भइरहेको छ ।
नयाँ आगमन कक्ष सञ्चालनमा आएपछि यात्रु तथा सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।