• ३१ भदौ २०८२, मङ्गलबार

आयो दसैँ

कुरा अब आशा र भरोसाका

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३१ गते । जेनजी आन्दोलनका कारण भएको जनधनको ठुलो क्षतिको शोकलाई शक्तिमा बदल्दै दैनिकीमा फर्किएका आमनागरिक अब आशा र भरोसाका कुरा गर्न चाहन्छन् ।  एक साताको उकुसमुकुसयुक्त वातावरणबाट आ–आफ्ना काममा फर्केका आममानिस आउँदै गरेको बडादसैँले उल्लास भित्र्याओस् भन्ने चाहना राख्दै लयमा फर्कने प्रयासमा छन् । शनिबारबाट बजार पसल खुले पनि काठमाडौँका स्थानीय सवारी सबै चलेका थिएनन् । तथापि खुलेकाजति स्थानबाट मानिस एक साताको उकुसमुकुस मेट्न खुला ठाउँ खोज्दै हिँडडुल गर्न थालेका थिए । आइतबार, सोमबार भने काठमाडौँ उपत्यकाका सबैजसो बजार र पसल दसैँ आएजस्तै गरी खुलेका छन् ।

यसैक्रममा वसन्तपुरआसपासका कुनामा अमला, छुर्पीसहितका खुद्रा पसल चलाउने लक्ष्मी मोक्तान एक साताको उकुसमुकुसलाई बोलेर भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “म त सुगर र दमको बिरामी, मान्छे मरेको, घर डढेको खबर सुन्दासुन्दा कोठाभित्रै आत्तिन थालेकी थिएँ ।” उकुसमुकुस घरभित्रबाट बाहिर निस्केर वसन्तपुरको खुला आकाश हेर्न पाउँदा उहाँले छुट्टै आनन्द महसुस गर्नुभयो । वीर अस्पतालको ट्रमा सेन्टरमा अझै पनि प्रदर्शनका घाइते हेर्ने शुभेच्छुक र आफन्तको घुइँचो लागेकै छ । त्यसको ठिक पछाडिको होलसेल बजार महाबौद्धमा भने खुद्रा र डिलर पसलमा दसैँको लत्ताकपडा र अन्य सामान किन्नेको लर्को लागेको छ । भरियाले पनि आइतबार बिहानैदेखि फुर्सद पाएनन् । गोदामबाट होलसेल पसलमा सामान ओसार्न भ्याइनभ्याई थियो । जुत्ताको भारी बोक्नुभएका हरिभक्त घर्तीले भन्नुभयो, “एक हप्ता भयो काम नगरेको, आज बल्ल दसैँ आएजस्तै काम पाइएको छ ।”

शङ्खमूलकी गौरी दाहालले पनि दसैँका सामान जोहो गर्ने हतारोमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “दसैँका सामान लैजानुपर्ने एक हप्ता ढिला भयो तैपनि केही छैन, जति हुन्छ बेचौँला, अब त्यस्तो आन्दोलन नभइदिए हुने ।” गरिखानुपर्ने मानिसलाई यस्ता आन्दोलनले गाह्रो पार्ने गरेको उहाँको अनुभव छ । उहाँ मात्र हैन होलसेल पसलेलाई पनि हैरानी भएको थियो । 

उहाँजस्तै कलङ्कीको तरकारी बजारमा भारी बोक्दै आउनुभएका शेरबहादुर परियारलाई एक साता कटाउन मुस्किल भयो । उहाँजस्तै रातभरि सडकमा अनिदै बसेर मध्यरातदेखि तरकारीको भारी बोक्नेले दसैँको मुखमा खान पनि धन्नै नपाएको उहाँले सुनाउनुभयो । 

अबको १०/१२ दिन काम गरेर घरमा पैसा पठाउने, खानेकुरा र दसैँका लुगाफाटा किन्ने, टीका लगाउने दक्षिणा जम्मा गर्ने चटारो हरेक घरमा बढेको छ । काठमाडौँजस्तै देशका अन्य सहरमा पनि भटाभट बजार, पसल खुलेर चहलपहल राम्रै बढेको स्थानीयले बताएका छन् ।