• ३० भदौ २०८२, सोमबार

नगरप्रमुख लामाद्वारा क्षमायाचना

blog

मकवानपुर समाचारदाता

मकवानपुर, भदौ ३० गते । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले जेनजीको आन्दोलनका क्रममा आफूबाट मन दुखाउने कार्य भएको भन्दै क्षमायाचना गर्नुभएको छ । 

नगरप्रमुख लामाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ गतेको आन्दोलनका क्रममा आफ्ना गुनासा राख्नका उपमहानगरपालिका परिसरमा आएका विद्यार्थीसँग कुराकानी गर्ने सन्दर्भमा उनीहरूको मन दुखाएकोप्रति क्षमायाचना गर्नुभएको हो । 

आन्दोलनका क्रममा विद्यार्थी छात्रवृत्तिको विषयलाई लिएर नगरप्रमुख लामा आफैँ उनीहरूको गुनासो तथा माग सुन्न पुग्नुभएको थियो । नगरप्रमुख लामाले विभेदपूर्ण व्यवहार गरेको भन्दै भदौ २४ गते आन्दोलनकारीले हेटौँडा उपमहानगरपालिकामा तोडफोड र आगजनी गरेका थिए । 

नगरप्रमुख लामाले मुलुकभरका विद्यार्थी उच्च शिक्षाका लागि चिन्तित हुनु परेको अवस्थामा उहाँहरूले पनि हेटौँडामा अवस्थित क्याम्पसमा छात्रवृत्तिको जायज माग राख्नु स्वाभाविक भएको बताउनुभएको छ । “उहाँहरूका माग हेटौँडा उपमहानगरपालिका माथिको विश्वास पनि हो,” नगरप्रमुख लामाले विज्ञप्तिमा भन्नुभएको छ, “ठुलो समूहमा आएका

विद्यार्थी भाइबहिनीसँग कुराकानी गर्ने सन्दर्भमा मैले उहाँहरूको मन दुखाएको अनुभव भएछ । यसप्रति उहाँहरूसँग म माफी माग्न चाहन्छु ।”

“यो नगरभन्दा बाहिरका विद्यार्थीलाई छात्रवृत्ति दिनु हुँदैन भन्न खोजेकै थिइनँ,” उहाँले विज्ञप्तिमा अगाडि भन्नुभएको छ, “यसअगाडि पनि नगरले हेटौँडामा आएर यहाँ रहेका विद्यालय एवं क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई नियम कानुनले दिन मिल्ने छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।”

उहाँले आफूले पनि व्यक्तिगत रूपमा पढ्न चाहने हरेक तहका विद्यार्थीलाई सहयोग गर्दै आएको स्पष्ट पार्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “पद एउटा संयोग मात्रै हो । म यही हेटौँडाको माटोमा जन्माएकी चेली हुँ । मैले हेटौँडावासीलाई उच्च सन्तुष्टि दिन नसके पनि मन दुखाउने गरी आजसम्म काम गरेकी छैन ।”

मधेश प्रदेशबाट हेटौँडामा आएर अध्ययन गर्ने विद्यार्थी भाइबहिनीलाई विभेद गर्ने भन्ने सवाल नै हुँदैन, यही विषयलाई लिएर राजनीतिक पूर्वाग्रह राख्दै अनावश्यक प्रचार गरी कलिला भाइबहिनीसँग दुरी बढाएर आफूलाई बदनाम गर्ने प्रयास भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

घटनाका बारेमा त्यसै दिन अर्थात् भदौ २३ गते साँझ नै विद्यार्थी प्रतिनिधिसँगको छलफलपछि क्षमा माग्दै भिडियो सन्देशसमेत सार्वजनिक 

गरेको बताउँदै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “त्यस दिनका मेरा कुराबाट विद्यार्थी भाइबहिनीको चित्त दुख्न गएकोमा म पुनः माफी माग्दछु ।”

उपप्रमुख बानियाँमाथि आक्रमण

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आइतबार बिहान आक्रमण भएको छ । बिहान करिब १० बजे हेटौँडा–२, बुद्धचोकमा साथीहरूसँग बसिरहेका बेला एक्कासि आव्रmमण भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार उपप्रमुख बानियाँलाई सामान्य चोटपटक लागेको छ । आक्रमण गर्ने व्यक्ति हेटौँडा–२ का ५१ वर्षीय पुरुषोत्तम खड्का रहेको प्रहरीले जनाएको छ । उहाँलाई उक्त घटनापछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार उहाँले यसअघि पनि मकवानपुरका नेता विरोध खतिवडामाथि आक्रमण गर्नुभएको थियो ।