• ३० भदौ २०८२, सोमबार

अधिकांश सरकारी कार्यालयमा आगजनी

क्षतिग्रस्त भवनबाटै सेवा प्रारम्भ

blog

जलेकै भवनबाट सेवा दिँदै जिल्ला प्रशासन कार्यालय चितवन । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, भदौ ३० गते । जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनी र तोडफोडबाट चितवन जिल्लाका ७९ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पालिकाका वडा कार्यालयदेखि अन्य सेवाप्रदायक सरकारी कार्यालय गरी ७९ वटा कार्यालयमा आगजनी र तोडफोडबाट क्षति पुगेको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको बैठकले सरकारी कार्यालयको क्षतिको विवरण सङ्कलन तथा मूल्याङ्कन गर्न समिति गठन गरेको थियो । समितिले आइतबारसम्म गरेको अध्ययनका आधारमा प्रारम्भिक विवरण अनुसार ७९ वटा कार्यालयमा पूर्ण तथा आंशिक क्षति भएको सार्वजनिक गरिएको हो ।  

यसै गरी निजी क्षेत्रतर्फ १७ वटामा क्षति पुगेको छ । विवरण सङ्कलन कार्य भइराखेकाले अझै वृद्धि हुने अनुमान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा प्राविधिक, इन्जिनियर, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधिसहितको टोलीले अध्ययन, विवरण सङ्कलन तथा मूल्याङ्कन कार्य गरिराखेको छ । सदरमुकाम रहेको भरतपुर क्षेत्रमा धेरै सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको पाइएको हो । 

कतिपय कार्यालयका केही पनि काम नलाग्ने गरी ध्वस्त भएको छ । केहीमा भने थोरै कागजपत्र बाँकी रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा भएका पालिका र अन्य सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । सबै कार्यालयको क्षतिको विवरण, भएका सामग्री काम लाग्न सक्ने अवस्थाको विवरण सङ्कलन कार्य भइराखेको छ । 

सेवाप्रदायक कार्यालयले आइतबारबाट जे जति सकिन्छ, सेवा सञ्चालन गरेको प्रजिअ अर्यालले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य आइतबारबाटै सुरु भएको छ । पालिका तथा वडा कार्यालयबाट सिफारिस नआउँदासम्म थप काम अगाडि बढाउन नसकिने भएकाले पालिकाको काम सञ्चालन गर्ने गरी काम भइराखेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग बैठक राखिएको छ । त्यही बैठकबाट जिल्लाका सबै पालिकाले सिफारिसको काम तत्काल सञ्चालन गर्न निर्देशन दिने तयारी छ,” उहाँले भन्नुभयो “जे जस्तो अवस्थामा छौँ, त्यहीँबाट सेवा सञ्चालन गर्ने छौँ । बस्ने स्थान नभएमा घरबाट गुन्द्री ल्याएर भए पनि सेवा दिन लगाउने तयारी भएको छ ।” कम्प्युटर तथा प्रिन्टर नभएको अवस्थामा कर्मचारीले आफ्नै घरबाट ल्याएर भए पनि सेवा सञ्चालन गर्नुपर्ने छ । “सेवा दिनै नसक्ने कार्यालयले सेवाग्राहीलाई सूचना दिएर भए पनि सेवा दिनुपर्ने हुन्छ,” प्रजिअ अर्यालले बताउनुभयो । सोमबारबाट सामाजिक सुरक्षा भत्ता र सिफारिस सञ्चालन हुने छ । 

तोडफोडमा गर्नेलाई नियन्त्रणमा लिइँदै 

आन्दोलनका क्रममा सरकारी तथा निजी कार्यालय, प्रतिष्ठानमा आगजनी र तोडफोड गर्नेको पहिचान गर्दै नियन्त्रणमा लिने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जिल्लाका सरकारी कार्यालयमा आगजनी गर्नेको पहिचान खुलेकाले उनीहरूलाई छिट्टै नियन्त्रणमा लिने जानकारी दिनुभयो । पुरीले भन्नुभयो, “आगजनी गर्दै गरेको तथा आगो लगाउन उक्साउनेको भिडियो सामाजिक सञ्जालमा भेटिएका छन् । उनीहरूले फेसबुकमा नै राखेको पाएका छौँ । ती सबै अध्ययन गरिएकाले उनीहरू पक्राउ पर्ने छन् ।”