• ३० भदौ २०८२, सोमबार

तराईवासी महिला जितिया मनाउँदै

blog

जितिया पर्वको अवसरमा उदयपुरको गाईघाटस्थित त्रियुगा नदीमा सामूहिक स्नान र पूजा गर्दै थारू समुदायका महिला । तस्बिर : भक्तिविलास पोखरेल

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, भदौ ३० गते । तराई क्षेत्रमा मनाइने जितिया पर्व शनिबारदेखि सुरु भएको छ । तराई क्षेत्रका महिलाले असोज कृष्णपक्षको अष्टमी तिथिका दिन जितवाहन भगवान्को पूजाआराधना गरेर मनाइने गरिन्छ । आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै तीन दिनसम्म मनाइने जितिया पर्व तराईमा सुरु भएको छ । जितिया पर्वमा जितवाहन भगवान्को पूजाआराधनासहित कठोर व्रत बस्ने चलन छ । विशेष गरी तराईका महिलाले २४ घण्टाअघिदेखि व्रत बसेर आफ्ना सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै जितवाहन भगवान्को आराधना गर्ने गरेको सावित्री चन्द्रवंशीले बताउनुभयो ।

तराईका जिल्लामा थारू तथा मैथिली महिलाले विशेष महत्वका साथ मनाउने जितिया पर्व हरेक वर्ष असोज कृष्ण पक्षको सप्तमी तिथिका दिनदेखि सुरु हुने चन्द्रवंशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जितिया पर्वमा जितवाहन भगवान्को कठोर उपवास बसेर सन्तानको सर्वाङ्गिण विकासका साथै सुख सुविधाको कामना गर्दै मनाइन्छ ।”

व्रत बस्नुअघि व्रतालु महिलाले नदी, तलाउ, खोला, पोखरीमा नुहाएर घिरौँलाको पातमा दहीचिउरा चढाएर आफ्ना सन्तानको दीर्घजीवनको कामना गर्दै दिवङ्गत पितृहरूलाई सम्झने गरेका छन् । शनिबारदेखि निराहार (निर्जल) उपवास बसी सोमबार बिहान १० बजेपछि जितवाहन भगवान्को पूजाअर्चना गरेर सम्पन्न हुने स्थानीय राइचन चन्द्रवंशीले बताउनुभयो ।

असोज कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व तराईका बस्तीमा भजन, कीर्तन, कथा प्रवचनका साथै व्रत बसेर मनाउँदै आएका छन् । पर्व मनाउनु एक दिनअघि नै आफ्ना घरआँगन लिपपोत सफासुग्घर गरी चोखा लुगा लगाएर प्रवचन सुन्ने र भजन कीर्तन गर्ने गर्छन् । 

पूर्वी नेपालका तराई क्षेत्रमा रहेका मठमन्दिरमा जितवाहन भगवान्को मूर्ति स्थापना गरेर सामूहिक रूपमा पूजाअर्चना गर्दै आएको स्थानीय राइचन बताउनुहुन्छ । प्रत्येक वर्ष आआफ्नै घरमा पूजाआराधना गर्दै आएका तराईवासी महिला पछिल्ला केही वर्षदेखि सामूहिक रूपमा जितवाहान भगवान्को मूर्ति स्थापना गरेर पूजा गर्दै आएका छन् । जितवाहन भगवान्को श्रद्धा भक्तिसाथ उपवास बसेर पूजाआराधना गरे सन्तान खुसी, सुखी र आरोग्य हुने विश्वासका साथ तराईवासी महिला जितिया पर्व मनाउँदै आएका छन् ।