• २९ भदौ २०८२, आइतबार

निजी क्षेत्रको आत्मबल कहिल्यै जल्दैन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशात्मक रूपले उद्यम व्यवसायमा धेरै ठुलो हुन्डरी ल्यायो र सखाप पार्ने प्रयास भयो । निजी क्षेत्रका नेता चन्द्रप्रसाद ढकाल पनि त्यसमा पर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष रहेका उहाँका आफ्नै लगानी भएका केही उद्योगमा पनि क्षति भयो । उहाँ जस्ता धेरै उद्यम खरानी भए र सबै आआफ्नै पीडामा छन् ।

ढकाललाई भने आफ्नै क्षतिको मात्र बिलौना गर्ने छुट छैन । उद्यमी व्यवसायीको दशकौँदेखिका आफ्ना व्यवसायी सदस्य तथा साथीका उद्यम खरानी पार्ने प्रयासले उहाँ थप पिरोलिनुभएको छ । “अर्बाैं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरि आँसु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन,” उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ, “मैले यसो गर्दा एकातिर हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ भने अर्कातर्फ म जस्तै क्षति पुगेका अरू व्यवसायीलाई मैले नै अमिलै मनले भए पनि सान्त्वताको धाप मार्नुपर्ने अवस्था छ ।”

अब उद्यमी व्यवसायी ठुलो भौतिक र मानसिक क्षतिका बिचबाटै आफ्नो हौसला र आत्मबललाई पुनः जागृत गर्दै उद्यम व्यवसायमा फर्कन उहाँले आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यसरी चित्त बुझाऊँ कि आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन ।” 

उहाँले गुमाएका सामग्री आफ्नो आत्मबल र हौसलाले फेरि जुटाउन सकिने उल्लेख गर्दै धैर्य, सङ्घर्ष र मेहनत सबैको वास्तविक सम्पत्ति भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “हामी उद्यमी, व्यसायीले आफूलाई कदापि एक्लो नठानी सबैको दुःखलाई आफ्नै ठानेर फेरि अझै सबल भएर उठ्न र अघि बढ्न लाग्नु पर्छ । भोलि सुनौलो बिहानी आउने नै छ । हाम्रा साहस र आत्मबलले भविष्यको पुस्तासम्म नै प्रेरणा छर्नु छ ।” 

राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन व्यवसाय बन्न सक्ने सम्भावनाका आधारमा लगानी र व्यवसायलाई विस्तार गर्दै आउनुभएको ढकाल नेतृत्वको लगानीले २० हजारभन्दा बढी नेपाली प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । 

यो उहाँको कठोर तपस्याको फल हो । सुरुमा उहाँसँग बिउ पुँजी त थिएन तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । उहाँले भन्नुभएको छ, “वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्वर माटोमा सिँचाइ गरौँ र यहीँ सुन फलाऊँ भन्ने भावना थियो र अहिले पनि छँदै छ ।” 

जेनजी आन्दोलनका नाममा अराजक समूहले गराएको तोडफोडमा आइएमई समूहको लगानी रहेको काठमाडौँको चन्द्रागिरी केबलकार र नवलपरासीको मौलाकालिका केबलकारको बेस स्टेनसमा आगजनी तथा तोडफोड भएको थियो । 

यस्तै निसानामा परेको उद्यमी समूह छ गोल्यान ग्रुप । जलविद्युत्, सौर्य ऊर्जा बैङ्क वित्तदेखि धागो कारखाना जस्ता सघन रोजगारी सिर्जना गर्ने उद्योग प्रवर्धन गर्ने सो समूहको केन्द्रीय कार्यालय नै आगजनी र तोडफोड भयो । यो पहिलो घटना पनि होइन । 

द्वन्द्वकालमा रिलायन्स स्पिनिड मिल्समै बम पड्काएर ध्वस्त बनाइएको थियो । समूहका अध्यक्ष पवन गोल्यान यस्ता घटनाबाट उठ्नुभन्दा पनि दोषीलाई कारबाही नहुनु विडम्बनापूर्ण बताउनुहुन्छ । “यो वा त्यो बहानामा हामी उद्यमी व्यवसायीमाथि विविध स्वरूपमा पटक पटक आक्रमण हुन्छन्,” 

उहाँले भन्नुभयो, “हामी स्वदेशी लगानीकर्ता र खरानीबाटै भए पनि उठौँला, उठेका पनि हौँ तर विदेशी लगानीका कम्पनीमा समेत आक्रमण हुँदा ती कसले उठाइदिने र किन उठाइदिने ? विदेशीले लगानी अब किन गर्ने ?”

भ्रष्टाचार निवारणका लागि उठेको जनजी आन्दोलनपछि गठित सरकारले यस्ता खाले अपराधीलाई देशद्रोहीका रूपमा कारबाही गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “र अब भ्रष्ट व्यक्ति कुनै सार्वजनिक पदमा दोख्नु नपरोस्, यसो हुँदा हामी मात्र होइन समग्र मुलुकले उन्नति गर्ने छ ।