टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ २९ गते । जेनजी आन्दोलनका क्रममा केन्द्रका थुप्रै संरचना ध्वस्त भएपछि आम नागरिकलाई जिल्ला तथा स्थानीय तहका सेवा प्रभावित हुने शङ्का छन् । गुल्मीमा जिल्ला अदालत बाहेकका कार्यालयहरुबाट सेवा सुचारु भएका छन् ।
जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कमल पन्थीका कारण नयाँ मुद्दा दर्ता तथा पुराना मुद्दा र निवेदनको सुनुवाइ अनिश्चित भएको छ । सर्वोच्चको सिस्टममा समस्या आएका कारण सेवा प्रभावित भएको बताउँदै पन्थीले जिल्लामा साक्षी, बकपत्र र तारेखका काम हुने जानकारी दिनुभयो । जिल्ला बार, अदालत र सरकारी वकिल कार्यालयबिच समन्वय गरेर सार्वजनिक सूचना समेत जारी गरिएको सूचना अधिकारी पन्थीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका भने सबै सेवा सुचारु रहेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले शुक्रबार पनि सेवा प्रवाह भएकाले सबै सेवा सञ्चालनमा रहेको बताउनुभयो । उहाँले केन्द्रमा आगजनी हुँदा सर्भरमा समस्या आएर सेवा प्रभावित हुनेमा आफुहरुलाई पनि शङ्का लागेर हेर्दा त्यस्तो अवस्था नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लाका कुनै कार्यालयमा क्षति भएको छैन । आजबाट निर्वाध रुपमा सेवा प्रबाह गर्छौ ।” गैरेले राष्ट्रिय परिचय पत्रसहितका सवै काम बिगतका दिनमा जस्तै नरोकिने भएकाले भिड बढ्न सक्ने भएकाले व्यावस्थापन गरेर अगाडि बढ्ने बताउनुभयो । राष्ट्रिय परिचय पत्रको भिड बढेपछि प्रशासनले एउटा स्टेशन मदाने गाउँपालिकामा लगेर काम गरेको थियो । त्यो टोली काम गरेर जिल्ला फर्किएकाले आवश्यकता हेरेर अरु स्थानीय तहमा पठाउने गैरेले बताउनुभयो ।
आन्दोलनमा जिल्लामा मुख्य तीन पार्टी एमाले, कांग्रेस र माओवादीका कार्यालयहरुमा क्षति पुगेको छ । तर कुनै सरकारी वा व्यक्तिगत संरचनामा क्षति भएको थिएन । जिल्लाका पसल व्यावसाय बिहिबारबाटै क्रमश खुल्दै गएका थिए । कार्यालयहरुमा विस्तारै सेवाग्राहीहरुको उपस्थिति हुन थालेको छ ।