• २९ भदौ २०८२, आइतबार

चोरीका सामग्री फिर्ता गर्न गाउँपालिकाको आग्रह

blog

जेनजी आन्दोलन । फाइल तस्बिर

लिलाधर वली

घोराही, भदौ २९ गते । दाङको बबई गाउँपालिकाले चोरी भएका सामग्री फिर्ता गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले सूचना जारी गर्दै हालैको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न सिर्जित परिस्थितिका क्रममा गाउँपालिकाबाट विभिन्न सामग्री हराएको तथा चोरी भएको भन्दै उक्त सामग्रीहरू फिर्ता गर्न आग्रह गर्नुभएको हाे ।  

सूचनामा कार्यालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर मेसिन, कुर्सी लगायतका महत्त्वपूर्ण सामग्री तथा कागजातहरू इमानदारीपूर्वक नजिकको प्रहरी कार्यालय वा बबई गाउँपालिकाको कार्यालयमा बुझाइदिनुहुन अनुरोध गरिएको छ । 

साथै, घटनाबारे कुनै जानकारी वा सूचनाहरू भए जानकारी गराइदिन समेत नागरिकमा अनुरोध गरिएकाे छ । सरकारी स्राेत र साधनको संरक्षण गर्नुपर्ने दायित्व भएको भन्दै अन्यथा सिसिटिभी फुटेज र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने र दोषी पहिचान गरी कानुन अनुसार कारबाही अघि बढाइने गाउँपालिकाले स्पष्ट पारेको छ । 

जेनजी आन्दोलनका क्रममा भदौको २४ गते बबई गाउँपालिकामा तोडफोड र आगजनी समेत भएको थियो ।