फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २९ गते । पोखरा महानगरपालिका वडा १९, लप्सीटाकुरामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
चिसापानी खोलाछेउमा चितुवाले बिहान साढे ८ बजे २८ वर्षीय सुमन विकलाई आक्रमण गरेको थियो । विकलाई आक्रमणपछि चितुवा हेर्न पुगेका २४ वर्षीय सन्दीप नेपालीलाई साढे ११ बजे सोही चितुवाले आक्रमण गरेको पोखरा १९ का वडा सदस्य विकास आचार्यले जानकारी दिनुभयो । विक र नेपाली दुवै पोखरा १९ कै बासिन्दा हुनुहुन्छ ।
घाइतेहरुको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी सुशील अर्यालले जानकारी दिनुभयो । यसरी आक्रमण गर्ने चितुवा घाइते रहेको स्थानीयहरु बताउँछन् ।
डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्ले चितुवालाई नियन्त्रण लिने प्रयास भइरहेको बताउनुहुन्छ । “अहिले सुरक्षाकर्मी लिएर चितुवा नियन्त्रणमा लिने तयारी छ,” उहाँले भन्नुभयो, “घाइते चितुवा मानिसको उपस्थितिले बिच्किएको जस्तो देखिन्छ ।”