काठमाडौं, भदौ २९ गते । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।
आज उहाँको अध्यक्षतामा बसेको बैठक बसेको थियो । उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन् ।
यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकता अनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राससलाई बताउनुभयो ।
उहाँका अनुसार बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्य स्थलसम्म जानसक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन एवं कार्यालयको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायत सामग्री सवारीसाधनबाट ओसारपसार हुन नपाउनेगरी तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको सिटौलाले बताउनुभयो । रासस