• २९ भदौ २०८२, आइतबार

सरसफाइमा जुटे सप्तरीका युवा

blog

सरसफाइ गर्दै स्थानीय युवा । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), भदौ २९ गते । सप्तरीका युवा सरसफाइमा जुटेका छन् । जेन्जीको आन्दोलनमा तोडफोड र आगजनी भएका स्थानमा सरसफाइ गर्न जिल्लाका युवा जुटेका हुन् ।

जेनजीको आन्दोलनमा सप्तरीका राजविराजस्थित राजविराज नगरपालिकाको कार्यालय, सघन सहरी डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, भौतिक पूर्वाधार कार्यालय, जिल्ला हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय राजविराज, सरकारी वकिलको कार्यालय, उच्च अदालत जनकपुर राजविराज इजलास, सप्तरी जिल्ला अदालत, राजगढ गाउँपालिका, जिल्ला समन्वय समिति, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका, महदेवा गाउँपालिका ४, जिल्ला निर्वाचन कार्यालय सप्तरीलगायत कार्यालयहरूमा जेनजीको समूहले मङ्गलबार कार्यालयका सामान तोडफोड गरी आगजनी गरेपछि आगलागीबाट क्षति भएका कार्यालयहरूमा सरसफाइमा जुटेको स्थानीय युवाहरूले बताएका छन् ।

मुलुकमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ ग्रहण गरेपछि अब जेनजीको उद्देश्य पूरा हुने आशा पलाएपछि सरसफाइ अभियानमा लागेको स्थानीय एलिश यादवले बताउनुभयो ।

जेनजीका तथा स्थानीय युवाहरूले सरसफाइ अभियान सुरू गरेका छन् । बिस्तारै कार्यालय र फोहर भएका ठाउँहरूमा सरसफाइ गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सफा नगरी कार्यालयहरू छिर्ने अवस्था नभएकोले प्राथमिकतामा राखेर सफा गर्ने हाम्रो योजना छ ।

यसैबिच सप्तरी प्रशासनले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान ७ दिनभित्र फिर्ता गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय, सप्तरीले सूचना जारी गरेर चोरी गरिएका र लुटिएका सरकारी कार्यालयका सामानहरू फिर्ता गरिदिन आग्रह गरेको हो ।

भदौ २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलन तथा प्रदर्शनको क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरुमा तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधिहरु भएको र सोहि अवसर पारी केही व्यक्तिहरुले कार्यालयका जिन्सी सामान, नगद रकम लगायतका सार्वजनिक सम्पत्ति लुटपाट र चोरी गरी घरसम्म लगेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य सञ्चार माध्यममा समेत स्पष्ट देखिएको फिर्ता गरिदिनुहुन आग्रह गरेको हो । सात दिनसम्म फिर्ता नगरे कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

जेनजीले गरेको प्रदर्शनमा घुसपैठ गरी जिल्लाको विभिन्न सरकारी,स्थानीय तह तथा पार्टी कार्यालयका करोडौं रकम बराबरको सरसामान, नगद तथा सवारीसाधनहरू जलेर खरानी भएको राजविराज नगरपालिकाका कार्यवाहक  नगरप्रमुख इसरत परविनले बताउनुभयो ।

यता जेनजीको प्रदर्शनमा जिल्लामा भएको क्षतिको पूरा विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने काम भइरहेको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।