• २९ भदौ २०८२, आइतबार

कर्फ्यु हटेसँगै सामान्य बन्दै रौतहटको जनजीवन

blog

गौर बजारमा चहलपहल बढ्दै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ २९ गते ।
जेनजीको माग बमोजिम नयाँ सरकार गठन भएसँगै रौतहटमा   आम नागरिकको जनजीवन सामान्य बनेको छ । शनिबार बिहानदेखि सदरमुकाम गौर, मध्यभाग गरुडा, पूर्व पश्चिम राजमार्ग चन्द्रनिगाहपुर लगायत ग्रामीण भेगमा समेत जनजीवन सामान्य बन्दै गएको हो । सवारी साधन चल्न थालेका छन् भने पसलहरू खुलेका छन् ।

अवस्था सामान्य भए पछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभरी लगाएको कर्फ्यु हटेको छ भने निषेधाज्ञा सिमिति ठाउँमा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार सूचना जारी गर्दै अर्को आदेश नहुन्जेल सम्मका लागि रौतहट सदरमुकाम गौरमा शनिबार बेलुका ५ बजेदेखि पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च माविसम्म निषेधाज्ञा लगाइएको जनाएको छ । जिल्ला कारागार कार्यालयको सुरक्षालाई मध्य नजर गर्दै उल्लेखित ठाउँमा अनिश्चितकालिन निषेधाज्ञा लगाइएको छ ।

यस बाहेक अन्य ठाउमा लगाइएको निषेधाज्ञा समेत हटेको छ । शनिबारदेखि नै रौतहटभरी आम सर्वसाधारणको चहलपहल बढेको छ । निषेधाज्ञा तथा कर्फ्यु हटेसँगै गौर बैरगनिया सिमानाका सूचारु साथै छोटो दूरी तथा लामो दूरीका बस समेत सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले बताउनुभयो ।

यस अघि सम्भावित हुलदंगा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ २७ गते शुक्रबारदेखि दिनको समयमा निषेधाज्ञा तथा रातिको समयमा कर्फ्यु जारी राखेको थियो ।