• २९ भदौ २०८२, आइतबार

फरार आठ जना कैदी बागलुङमा पक्राउ

blog

अर्जुन कार्की 
काठेखोला (बागलुङ), भदौ २९ गते ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीबन्दी बागलुङमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट फरार भएर बागलुङ आइपुगेका ८ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले फरार चार जना कैदी र चार जना थुनुवालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

बालसुधार केन्द्र साराङकोटबाट फरार भएका चार जना थुनुवा, चितवन कारागार, केन्द्रीय कारागार, म्याग्दी कारागार र पोखरा कारागारबाट फरार एक–एक जना कैदीलाई बागलुङ आइपुगेका थिए । उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो ।

बालसुधार केन्द्र साराङकोटबाट जबरजस्ती करणीका थुनुवा अभिषेक सुनार, पूर्णलाल विक, कर्तव्य ज्यान मुद्दाका थुनुवा रोजन खत्री र ज्यान मार्ने उद्योगका थुनुवा मिलन परियार बागलुङमा पक्राउ परेका हुन् भने चितवन कारागारमा जबरजस्ती करणकीका कैदी पर्शुराम खत्री, केन्द्रीय कारागारबाट जबरजस्ती करणकीका कैदी टेकबहादुर विक, म्याग्दी कारागारबाट जबरजस्ती करणकीका कैदी जनक पुन र पोखरा कागाराबाट जबरजस्ती करणकीका कैदी बलबहादुर थापा फरार भएर बागलुङ आइपुगेका थिए । नियन्त्रणमा लिइएका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ ।

सम्बन्धित कारागारमा सम्पर्क गरेर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सम्बन्धित कारागार फर्कन प्रहरीले आग्रह गरिसकेको छ ।