राजन रावत
हुम्ला, भदौ २९ गते । हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकहरुले चिकित्सकबाट उपचार पाउनुभएको छ । सधैँ गाउँकै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाट उपचार गर्दै आउनुभएका उहाँहरुले शिविरमा भने चिकित्सकबाट उपचार पाउनुभएको हो ।
अझ एक जना ९८ वर्षका ज्येष्ठ नागरिकले पहिलो पटक चिकित्सकबाट उपचार पाएको सिमकोट गाउँपालिका– ७ को डाडाफया गाउँँका मेघजित शाहीले बताउनुभयो । यत्रो उमेरसम्म चिकत्सकबाट उपचार नपाएको बताउँदै उहाँले शिविर सञ्चालन भएपछि चिकित्सक आएका कारण उहाँहरुसँग उपचार पाएको बताउनुभयो । दम, कान नसुन्ने र आँखामा पनि समस्या आएपछि उहाँ शिविरमा उपचारका लागि आउनुभएको हो । त्यसैगरी, शिविरमा सोही गाउँकी ९५ वर्षकी पर्वकला शाहीले पनि पहिलो पटक चिकित्सकसँग उपचार गरेको बताउनुभयो । तल्लो पेट र ग्यास्टिक समस्याले पीडित शाहीले चेकजाँच गर्ने क्रममा खुलेर आफ्नो समस्या समेत राख्नुभएको थियो । यो समस्या लिएर दुई महिनाको एक पटक स्वास्थ्य चौकीमा पुगेर उपचार गर्दै आएको बताउँदै यस पटक शिविरमा भने चिकित्सक देख्न र उपचार गर्न पाएको उहाँले बताउनुभयो ।
त्यसैगरी शिविरमा ७१ वर्षकी मोतिसरा शाहीले पनि पहिलो पटक चिकित्सकसँग उपचार गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । बाथ रोगकी बिरामी शाहीले शिविरमा चिकित्सक आउने खबर पाएपछि गाउँँका ज्येष्ठ नागरिकहरु अधिकांस उपचार गर्न आएको बताउनुभयो । सदरमुकाम नजिकको गाउँका ज्येष्ठ नागरिकहरुले समेत चिकित्सकबाट पहिलो पटक उपचार गर्न पाएको भनाइ सुन्दा अचम्म लागेको बताउदै शिविरमा आउनुभएका बिरामीको उपचारमा संलग्न चिकीत्सक विकास शाहीले आफूलाई पनि यसरी ज्येष्ठ नागरिकको उपचार गर्न पाएकोमा भाग्यमानी ठानेको बताउनुभयो । खानपानमा ध्यान दिन नसकेका कारण शिविरमा आउनुभएका अधिकांस बिरामीहरुलाई ग्याष्टिक, बाथ, श्वासप्रश्वास, युरिक एसिड, दम, मधुमेह रोग देखिएको उहाँँले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरु कै उपचारमा सहयोग पुगोस भनेर नै शिविर सञ्चाल गरिएको शिविरका सञ्चालनमा सहयोग गर्दै आएको हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताउनुभयो । शिविरमा चिकित्सकहरु छक्क थापा, वीरेन्द्र शाही र मङ्गला बुढाले उपचार गर्नुभएको थियो भने स्त्री रोगसम्बन्धी सम्पूर्ण रोगको चेकजाँच, निःशुल्क औषधी वितरण, भिडियो एक्स रे, नाक, कान र घाँटीको उपचार हुनुका साथै सुगर र प्रेसरको पनि चेकजाँच भएको थियो । दुई दिनसम्म सञ्चालन भएको शिविरमा २५५ जना ज्येष्ठ नागरिकको उपचार भएको हो । स्वास्थ्य चेकजाँच गरिएका बिरामीलाई औषधी पनि निःशुल्क वितरण गरिएको थियो ।