भवानीदत्त भट्ट
कञ्चनपुर, भदौ २९ गते । कञ्चनपुरमा गत मङ्गलबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि शनिबार कफ्र्यु हटाएसँगै आइतबारदेखि निषेधाज्ञा पनि हटाइएको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आइतबार निषेधाज्ञा पनि हटाइएको जानकारी दिनुभयो । निषेधाज्ञा हटेसँगै जिल्लामा बन्द रहेका बजार, यातायात लगायत शैक्षिक संस्थाहरू सञ्चालनमा आएका छन् ।
सेवा प्रवाहमा समस्या
जिल्लामा निषेधाज्ञा हटे पनि प्रशासन कार्यालय कञ्चनपुरले प्रदान गर्दै आएको विभिन्न सेवाहरू आइतबार सुचारु नहुने भएका छन् । प्रशासनले नागरिकतासम्बन्धी, राष्ट्रिय परिचय पत्रसम्बन्धी र राहदानीसम्बन्धी सेवा सुचारु गर्न नसकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले एक सूचना जारी गर्दे जेनजी आन्दोलनका क्रममा यस कार्यालयमा भएको तोडफोड र आगजनीका कारण विद्युत्/इन्टरनेट सेवा तथा नागरिकता प्रणालीमा क्षति पुगेको बताउनुभयो । कार्यालयमा पुगेको क्षतिका कारण आइतबार यस कार्यालयले प्रदान गर्दे आएका नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धीका सेवा प्रदान गर्न असमर्थ रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । सोमबारदेखि भने नियमितरुपमा सेवा सुचारु गरिने उहाँले बताउनुभयो ।