अमरराज नहर्की
तनहुँ, भदौ २९ गते । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त तनहुँ जिल्ला अदालतले आइतबारदेखि आंशिक सेवा सञ्चालनमा ल्याउने भएको छ । आगजनीपछि एक महिनासम्म सुनुवाइ रोकिएको अदालतले विशेष निर्णय गर्दै मिलापत्र दर्ता, पक्राउ पुर्जी अनुमति, थुनछेक सुनुवाइ, बन्दीप्रत्यक्षीकरण र विवाह–वारिस नामासम्बन्धी दर्ता प्रमाणिकरण सेवा मात्र प्रारम्भिक चरणमा उपलब्ध गराउने जनाएको छ ।
गत भदौ २४ गते आन्दोलनकारीले अदालतमा आगजनी गरेपछि बुधबारदेखि सबै मुद्दाको सुनुवाइ स्थगित भएको थियो । भवन क्षतिग्रस्त र अभिलेख जलेर नष्ट भएपछि हदम्यादसम्बन्धी चिन्ता उठे पनि अदालतले सर्वोच्च अदालतको अघिल्लो आदेश र कानुनी प्रावधानअनुसार ३० दिनभित्र उपस्थित भए म्याद गुज्रिने समस्या नहुने स्पष्ट पारेको छ ।
अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार आगलागीले भवन सुरक्षात्मक रूपमा कमजोर बनेको छ भने आवश्यक कागजात र फाइलहरू जलेर नष्ट भएका छन् । यसले गर्दा सम्पूर्ण सुनुवाइ तत्काल सम्भव नभए पनि आधारभूत सेवाहरू सुरु गरेर न्यायिक प्रक्रिया विस्तारै सञ्चालन गर्ने तयारी गरिएको हो ।
वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले न्यायालयमाथिको आक्रमणलाई गम्भीर विषय बताउँदै अदालत सञ्चालनको निर्णय स्वागतयोग्य भएको टिप्पणी गर्नुभयो । “न्यायिक प्रक्रिया ठप्प हुँदा नागरिकको आधारभूत हक खोसिएको थियो, आंशिक भए पनि सेवा सुरु हुनु सकारात्मक हो,” उहाँले भन्नुभयो ।