सबै खाले पसलमा कारोबार
गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २७ गते । दुई दिनदेखि पूर्ण रूपमा बन्द भएका बजार सामान्य व्यवसाय सञ्चालनमा आउन थालेका छन् । जेन जी पुस्ताले गरेको आन्दोलनका कारण बन्द भएका पसल नेपाली सेनाले बुधबार रातिदेखि जारी गरेको निषेधाज्ञा र कफ्र्यु खुकुलो बनाउँदै गर्दा काठमाडौँ उपत्यकाको बजार बिहीबारदेखि क्रमशः सञ्चालनमा आएको हो । बजार पसल खुल्न थालेपछि जनजीवनसमेत सामान्य अवस्थामा आउन थालेको छ ।
नेपाली सेनाले विज्ञप्ति जारी गरी अत्यावश्यक कामसँगै खाद्यान्न खरिद गर्नका लागि बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म बाहिर निस्कन दिएको छ । तथापि दिउँसो पनि पसल खुला रहेका थिए ।
विशेष गरी खाद्य तथा किराना, औषधी पसल, तरकारी पसल, ग्यास, पानी, दुग्ध डेरी पसल, बिग मार्टलगायतका पसल खुलेका छन् । पसल खुला भएपछि बिहानैदेखि खाद्य तथा किराना पसलमा सामान खरिद गर्ने उपभोक्ताको भिडभाड लागेको थियो । मुख्य सडकमा रहेका पसल भने बन्द नै रहेका छन् । भित्री स्थानमा रहेका चिया, कफी र साना होटेल रेस्टुरेन्टसमेत खुल्न थालेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्राचार्यले खाद्य तथा किराना पसल बिहानैदेखि खुला भएको जानकारी दिनुभयो । उपभोक्ताले खाद्यान्न उपभोग गर्नुपर्ने भएकाले पनि पसल खुला गरिएको उहाँले जानकारी दिनुभयो । तोकिएको समयमा खाद्य तथा किराना पसल पूर्ण रूपमा खुला गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै बिहीबारदेखि अधिकांश पेट्रोल पम्प पनि खुला हुन थालेका छन् । भद्रकालीमा रहेको सेनाको रिपुमर्दिनी पेट्रोल पम्पसँगै निजीस्तरबाट सञ्चालित पेट्रोल पम्प खुला छन् ।
राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पहरू खुला भएको र निश्चित समय बैङ्कसमेत खुला गरेकाले पेट्रोलियम पदार्थको कारोबार गर्न सहज भएको उहाँको भनाइ छ ।
यस्तै, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले हरियो तरकारी उपत्यकामा भित्रिन थालेको जानकारी दिनुभयो । बिहानको समयमा सिन्धुली र नागढुङ्गामार्फत हरियो तरकारी आयात भइरहे पनि बजार पूर्ण रूपमा नखुलेका कारण खपत घटेको जानकारी दिनुभयो ।
नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले अत्यावश्यक सेवामा दुग्ध ढुवानीलाई पनि समावेश गर्न आग्रह गरेपछि बिहीबारदेखि तोकिएको समयभित्र ढुवानी गरिएको जानकारी दिनुभयो । उपत्यकामा दैनिक पाँच लाख लिटर दुधको कारोबार हुने गरेकोमा जेन जीको आन्दोलनका कारण कारोबार २० प्रतिशतले घटेको उहाँले जानकारी दिनुभयो । होटेल, रेस्टुरेन्ट, सरकारी तथा निजी कार्यालयलगायत सबै क्षेत्र बन्द भएका कारणले गर्दा दुधको खपत घटेको उहाँको भनाइ छ ।
अत्यावश्यक सेवाका सवारीसाधन चले पनि सार्वजनिक यातायात भने अनिश्चितकालका लागि बन्द रहेका छन् ।