गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २७ गते । विगत तीन दिनदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण सङ्घीय राजधानी काठमाडौँमा ताजा तरकारी आपूर्ति हुन छोडेसँगै अभाव हुन थालेको छ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा जेन जी पुस्ताको आन्दोलनले निम्ताएको परिस्थितिका कारण जारी निषेधाज्ञामा उपत्यका र उपत्यकाबाहिरबाट तरकारी आपूर्ति हुन नसकेपछि तरकारी अभाव भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दैनिक सात/आठ सय मेट्रिक टन तरकारी भित्रिने तरकारी बजारमा एक सय मेट्रिक टनको हाराहारीमा सीमित भएको छ । तरकारी आगमन नै असाध्यै कम भएपछि समितिले दैनिक मूल्य सूचीसमेत राख्न छोडेको जनाएको छ ।
समितिका निर्देशक एवं सूचना अधिकारी विनय श्रेष्ठले उपत्यकामा जारी निषेधाज्ञाका कारण बजारमा तरकारी नै आउन छोडेपछि गएको मङ्गलबारदेखि तरकारीको मूल्य सूची राख्न नसकेको जानकारी दिनुभयो । बजारमा आलु प्याज भित्रिए पनि ताजा तरकारीको आपूर्ति असाध्यै कम भएको पनि उहाँले जानकारी दिनुभयो ।
उपत्यका बाहिरबाट तरकारी भित्रिने केन्द्रीय बजार कालीमाटीमा भदौ २३ गते मात्रै सात सय मेट्रिक टन, २४ गते पाँच सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको थियो । भदौ २५, २६ र २७ गते बजारमा एक सयदेखि १५० मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी आएको छ । त्यो पनि अधिकांश सुकेको प्याज र आलु हरिया तरकारी असाध्यै कम आएको व्यापारी बताउँछन् ।
कालीमाटी थोक व्यापारीको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले कालीमाटी बजारमा हरियो तरकारी कम आएको र आएको तरकारी एकैछिनमा सकिने गरेको बताउनुभयो । कालीमाटी बजारमा यो समयमा उपत्यका वरपरको तरकारीले करिब आधा माग धान्ने गरेकोमा अहिले यहाँको तरकारी आउन रोकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरेर ताजा तरकारी कम आए पनि आलु, प्याज भने पर्याप्त आएको छ ।
कालीमाटी तरकारी बजार समितिले अति आवश्यकीय वस्तु तरकारी आपूर्तिमा कुनै रोक नभएको प्रस्ट पारेको छ । समितिका अनुसार बजारमा आएको तरकारी नेपाली सेनाले तोकेको समय बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म कारोबार गर्ने गरी व्यवस्था गरेको छ तर बजारमा निषेधाज्ञाको हल्लाले हो कि किन हो ताजा तरकारी आउन नसकेको समितिका निर्देशक वियन श्रेष्ठले जानकारी दिनुभयो ।