गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २७ गते । राजनीतिक दल तथा दलका युवा नेताले संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै जेनजी आन्दोलनको माग सम्बोधन हुन सक्नेमा विश्वस्त रहेको बताउनुभएको छ । उहाँहरूले जेनजी पुस्ताको माग लोकतन्त्र र संविधानविरुद्ध नरहेको आफूहरूको बुझाइ रहेको पनि बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयम, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्ण रूपमा निकासको पक्षमा लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था न संविधानविरुद्ध न त संसद् विघटनको पक्षमै रहेको छ ।”
उहाँहरूको माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा विश्वस्त रहेको प्रचण्डले बताउनुभएको छ । उहाँले संविधान र व्यवस्थापिका संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पु¥याउने ठहर गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले जेनजी पुस्ताले उठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायको भूमिकाको सराहना गर्नुभएको छ । साथै उहाँले प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्नुभएको छ ।
प्रचण्डले आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनीको घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाले गरेको आन्दोलन सही भए पनि सरकारले गरेको दमन गलत भएको उल्लेख गर्नुभएको छ ।
संविधानबाटै माग सम्बोधन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) ले संविधानको खारेजी र संसद् विघटन जेनजीको माग नरहेको उल्लेख गर्दै सोही माग राखेर लोकतन्त्र अन्त्य गर्न खोज्नेप्रति सचेत हुन जरुरी रहेको जनाएको छ । सो दलका अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गरी लोकतन्त्रै नरहे सामाजिक सञ्जाल मात्रै नभई वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने तर्क गर्नुभएको छ ।
उहाँले जेनजी आन्दोलनले उठाएका मागको सम्बोधन वर्तमान संविधानबमोजिम संसद्भित्रैबाट गर्न सकिने बताउनुभएको छ । भ्रष्ट नेतालाई कारबाही गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने उहाँको सुझाव छ ।
युवा नेताको जोड सहमतिमा
प्रमुख दलका केही युवा नेताले आन्दोलनरत युवा, विद्यार्थी तथा आमजनताको मागको सम्बोधन बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने ठहर गरेका छन् । प्रमुख दलका दोस्रो पुस्ताका नेताहरू नैनसिंह महर, राजीव ढुङ्गाना, माधव ढुङ्गेल, नवीना लामा, नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, पञ्चा सिंह, सुदेश पराजुली, आरती लामा र अनिलकिशोर घिमिरेले एक विज्ञप्ति जारी गरी यस्तो ठहर गर्नुभएको हो ।
उहाँहरूले जननिर्वाचित संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएको बताउँदै प्रतिगामी तथा केही अवाञ्छित तत्वबाट संसद् विघटन माग गरिएको दाबी गर्नुभएको हो । युवा नेताले संसद्बाटै राजनीतिक निकास खोज्न, संसद्भित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली दिँदै युवा नेताले राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन जस्ता मागविरुद्धमा सडक सङ्घर्षमा उत्रिन तयार रहन युवा विद्यार्थीलाई उहाँहरूले अपिल गर्नुभएको छ ।
लोकतान्त्रिक विधि नै निकासको विकल्प
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले असामान्य स्थितिको फाइदा उठाउनेबाट विभिन्न ठाउँमा लुटपाट र आक्रमण भइरहेकाले जनताको जिउधनको सुरक्षा तथा सम्पत्ति रक्षाका लागि सुरक्षा निकायसँग अनुरोध गर्नुभएको छ ।
मुलुक गम्भीर राजनीतिक सङ्क्रमणको अवस्थामा पुगेकाले राजनीतिक निकास संविधानसम्मत रूपले गर्न आवश्यक रहेको बताउँदै उहाँले लोकतन्त्रमा लोकतान्त्रिक विधि नै निकासको विकल्प रहेको उहाँको भनाइ छ । “संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दललाई पारस्परिक संवादमा आउन, संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछु,” महासचिवले उल्लेख गर्नुभएको छ ।
महासचिव पोखरेलले बिहीबार एमालेको तर्फबाट विज्ञप्ति जारी गर्दै यो अवस्था सामान्य भएपछि पार्टी सङ्गठनमा जेनजी आन्दोलन र घटनाबारे गम्भीर समीक्षा गर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो प्रतिकूल अवस्था यही रूपमा सधैँ रहने छैन, अन्त्य भएर जाने छ । यस्तो विषम परिस्थितिमा एकताबद्ध भएर रचनात्मक ढङ्गले अघि बढ्नु पर्छ ।”
सङ्कटको यस अवस्थामा सबैसँग समन्वय गरी प्रतिकूलतालाई चिर्ने गरी एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभएको छ, “राष्ट्र, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक लाग्ने छ ।” अहिलेको यस अवस्थामा स्थानीय सरकारबाट निर्वाध रूपमा सेवा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुलुकमा भएको भयावह अवस्थाको न्यायिक छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही हुनुपर्ने उहाँको भनाइ छ । जेनजी पुस्ताले आफ्नो आन्दोलन शान्तिपूर्ण रहने बताएको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उहाँले लुटपाट र तोडफोडजस्ता घटनाको जिम्मेवार को हो ? जिज्ञासा गर्नुभएको छ ।
करिब १३ हजार बढी कैदीबन्दी जेलबाहिर रहेको अहिलेको अवस्थामा शान्ति सुरक्षामा समेत चुनौती थपिएको बताउँदै उहाँले संवैधानिक संरचनाको तोडफोड र आगजनीले खर्बौं राष्ट्रिय सम्पत्ति ध्वस्त भएपछि मुलुक विकासको हिसाबले निकै पछाडि धकेलिएको उहाँले चर्चा गर्नुभएको छ । असामान्य अवस्थामा फाइदा उठाउनेबाट सबै सचेत रहनुपर्ने भन्दै उहाँले पार्टी कार्यकर्तालाई हतोत्साही नहुन आग्रह गर्नुभएको छ ।