• २६ भदौ २०८२, बिहिबार

तनहुँ जनजीवन सामान्यतर्फ : युवाद्वारा सरसफाइ, सुरक्षामा कडाइ

blog

सडक सफाइमा जुटेका स्थानीय युवा । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २६ गते ।
जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनीले अस्तव्यस्त बनेको तनहुँको सदरमुकाम दमौली विहीबारदेखि फेरि सामान्यतर्फ फर्किन थालेको छ । आन्दोलनको चरम उग्रतामा धमाधम बन्द भएका पसलहरु बिहानदेखि क्रमशः खुल्न थालेका छन् । नगरका मूल सडकमा सर्वसाधारणको चहलपहल बढेको छ ।

आन्दोलनका क्रममा दर्जनौँ कार्यालयमा आगजनी र तोडफोड हुँदा नगरभरी फोहोरको थुप्रो लागेको थियो । तर बिहानैदेखि स्थानीय युवाहरू हातमा बोरा, कुचो र काँधमा जिम्मेवारी बोकेर सडक सफाइमा जुटेका देखिए । व्यास नगरपालिकाको मुख्य चोकदेखि नगर प्रवेशद्वारसम्म जलेका कागजपत्र, टुक्रिएका फर्निचर र जलेका सामग्री हटाइए । सरसफाइ अभियानमा स्थानीय युवासँगै धार्मिक व्यक्तित्वको समेत उपस्थिति रह्यो । ध्यानाचार्य खेमराज अधिकारीले भन्नुभयो, “सहर बिगार्न धेरै दिन लाग्दैन, तर उठाउन हरेक नागरिकले हातेमालो गर्नुपर्छयो हाम्रो सामूहिक जिम्मेवारी हो ।”

युवा अभियन्ता सुदीप गफ्फारले आन्दोलनकै भीडमा तोडफोड रोक्न पहल गरेको अनुभव सुनाए । उहाँले भन्नुभयो, “ढुङ्गामुढा गर्नेहरूलाई हामीले लखेट्यौं, बरु संरक्षणतर्फ लाग्यौं, अहिले फेरि नगरलाई सफा गर्दै पुनः जीवन दिन जुटेका छौँ ।” त्यस्तै, सरसफाइ अभियानमा सक्रिय भाग्यशाली ढुङ्गानाले भन्नुभयो, “यो हाम्रो सहर हो, अरूले सफा गरिदिन्छन् भन्ने सोचाइ गलत हो, हामी आफैँ उठेपछि मात्रै नगर फेरि सुन्दर बन्छ । आन्दोलनले बिगारेको दमौलीलाई उठाउने काम अब हाम्रै काँधमा छ ।”

आन्दोलनपश्चात सुरक्षाको अवस्था पनि कडा बनाइएको छ । नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय संयन्त्रको तीन तहको सुरक्षा गस्ती सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले भने, “हामीले बिहानैदेखि संवेदनशील स्थानहरूमा गस्ती बढाएका छौं । स्थानीयले सामान्य जीवनयापन गर्न सकुन् भन्ने हाम्रो पहिलो प्राथमिकता हो ।”

अराजक अवस्थाको साक्षी
मङ्गलबार र बुधबार आन्दोलन चर्किँदा जिल्लास्थित दर्जनौँ सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । जिल्ला समन्वय समिति, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, उर्जा तथा जलस्रोत लगायतका संरचना ध्वस्त भएको स्थानीय प्रशासनले जनाएको छ । कारागारबाट ३२७ जना कैदीबन्दी फरार भएको घटनाले सुरक्षा निकाय थप दबाबमा परेको छ ।

त्यस्तै, व्यास नगरपालिकाको सवारी साधनमा आगजनी गरिएको छ भने वडा कार्यालय, शिक्षा तालिम केन्द्र तनहुँ, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, र विभिन्न प्राविधिक कार्यालय पनि आन्दोलनकारीको निशानामा परेका छन् । कार्यालयका महत्त्वपूर्ण कागजात तथा उपकरण जलेर नष्ट हुँदा जनसाधारणलाई सेवा लिन कठिनाइ भएको छ । अझै पनि भत्किएका पर्खाल, जलेका सामग्री र चिरिएका बोर्डहरूले उग्र आन्दोलनको स्मरण दिलाइरहेका छन् ।