• २ असोज २०८२, बिहिबार

अवैधरुपमा नदीजन्य पदार्थ उठाउँदै गरेका आठ ट्याक्टर नियन्त्रणमा

blog

प्रहरी नियन्त्रणमा रहेका ट्याक्टरहरु । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय स्याङ्जा

राधाकृष्ण डुम्रे 
वालिङ (स्याङ्जा),भदौ २१ गते ।
वर्षाको समयमा खोलामा पसेर अवैध रुपमा नदीजन्य पदार्थ उठाउँदै गरेका आठ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध क्रियाकलापलाई रोक्ने अभियान नै चलाएको स्याङ्जा प्रहरीले पछिल्लो एक हप्तामा नै आठ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

प्रत्येक वर्षको साउन १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् गरेर ओसापसार गर्न पाइदैन । स्थानीय सरकारले जम्मा गरी राखेका र प्रमाणित गरेका ढुङ्गा, गिट्टी, बालुवा मात्रै ओसारपसार गर्न पाइने प्रहरीको भनाइ छ । प्रमाणित नगरेका सामग्री ओसारपसार गर्ने र खोलामा पसेर सामग्री निकाल्नेहरुलाई कारवाही गरिँदै आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पशन्न राज चौधरीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका ट्याक्टरहरुलाई कारवाहीका लागि सम्बन्धित पालिकामा पठाइएको उहाँको भनाइ छ ।

आँधीखोला तथा अन्य विभिन्न खोलाबाट नदीजन्य सामग्री निकाल्ने कार्यमा रोक लगाउन प्रहरीले सक्रियता देखाएको हो ।

पुतलीबजार नगरपालिका–१ स्थित पुल नजिक आँधीखोला किनारामा ढुङ्गा लोड गरिरहेको अवस्थामा शुक्रबार ग १ त ६६७५ र ग १ त ४०२३ नम्बर को ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । यस्तै, भिरकोट नगरपालिका–७ बलमाटा स्थित ग १ त ६५३३ नम्बर को ट्याक्टरले बालुवा ओसार पसार गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रहरीले यसैसाता भीरकोटबाट दुई, वालिङबाट दुई र पुतलीबजारबाट एउटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।