• १९ भदौ २०८२, बिहिबार

दाङमा लम्पी स्किनको संक्रमण, पशुमा खोप लगाईंदै

blog

घोराही–४ डाँडागाउँमा लम्पि स्किन रोगबाट संक्रमित गाई । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, भदौ १९ गते । पशु चौपायामा संक्रमणका रुपमा फैलिरहेको ‘लम्पी स्किन’ रोग रोकथामका लागि दाङमा खोप लगाउन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा ४, ११, १५ र १७ नं. वडाका विभिन्न ठाउँमा पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएपछि जिल्लाभर पशुमा खोप लगाउन सुरु गरिएको हो । 

पशु चौपायामा लम्पी स्किन रोग महाभारीका रुपमा फैलिन नदिन जिल्लामा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका पशु प्राविधिक धुव्रकुमार बस्नेतले जानकारी दिनुभएको छ । पशु प्राविधिक बस्नेतका अनुसार जिल्लामा लम्पी स्किन रोगको संक्रमण रोकथामका लागि २० हजार डोज खोप मगाएर पशुचौपायालाई खोप लगाउनका लागि दशवटै स्थानीय तहमा वितरण गरिएको बताउनुभयो । 

लम्पी स्किन रोगका फोकल पर्सन समेत रहनुभएका पशु प्राविधिक बस्नेतले पशु अन्वेषन केन्द्र नवलपरासीबाट खोप मगाएर घोराही र तुलसीपुर उपमहानगरपालिकामा तीन-तीन हजार, राप्ती गाउँपालिकामा दुई हजार पाँच सय, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा दुई-दुई हजार, दंगीशरण र बबई गाउँपालिकामा १५-१५ सयका र शान्तिनगर र बंगलाचुली गाउँपालिकामा एक-एक हजारका दरले खोप वितरण गरिउको बताउनुभयो । उहाँका अनुसार शान्तिनगर बाहेक अन्य नौ वटा स्थानीय तहमा पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाउने काम भइरहेको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका अनुसार जिल्लामा यो बर्ष भदौको पहिलो साता घोराही उपमहानगरपालिका वडा ४ को डाडाँगाउँ र वडा नं. १७ को बर्गदीमा लम्पी स्किन रोगको संक्रमण देखिएको थियो । 

सुरुमा १३ वटा गाईगोरु र चार वटा भैसीमा रोगको संक्रमण देखिएको भन्दै पशु प्राविधिक बस्नेतले भन्नुभयो, ‘प्रदेशका अन्य जिल्लाहरुमा लम्की स्किनको संक्रमण देखिएपछि जिल्लाका दशवटै स्थानीय तहका पशु शाखालाई सम्पर्क गरेर लम्पी स्किन रोगका बारेमा बुझेका थियौ । त्यहाँबाट केही जानकारी नआएपछि संक्रमण छैन भन्ने थियो तर किसान आफै कार्यालयमा पशु विरामी परेको भनेर खवर गर्न आएपछि नमूना संकलन गरेर परिक्षण गर्दा १७ वटा पुशमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको हो ।’  

उहाँका अनुसार रोग पुष्टिका लागि पशु अन्वेषन केन्द्र नवलपरासी पठाइएको र त्यहाँबाट लम्पी स्किन रोग पुष्टि भएको थियो । उहाँका अनुसार संक्रमित गाईगोरु र भैसीको निशुल्क रुपमा उपचार भइरहेको र अहिलेसम्म कुनै पशु मरेका छैनन् । लम्पी स्किन रोगबाट संक्रमित पशुलाई ज्वरो आउने, मुखबाट अत्यधिक र्‍याल झर्ने, नाकबाट पानी बग्ने, शरीरभरि दुईदेखि पाँच सेन्टिमिटर व्यासको गाँठो आउने, गाँठो चिलाउँदा पशुमा छट्पटी बढने, त्यसमा पिप भरिएर फुट्ने, गर्भिणी गाईको गर्भपात हुने, दुध सुक्ने जस्ता लक्षण देखा पर्ने गरेका छन् ।