गजेन्द्र गुरुङ
खजुरा, भदौ १९ गते । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्धन गर्न अन्तरप्रदेश अन्तरक्रियाको आयोजना गरिएको छ । नेपाल एसोसियएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना, नाट्टा बाँकेको समन्वय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धकत्वमा बिहीबार नेपालगन्जमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्योपानेले सीमाक्षेत्रका जिल्लाहरुमा बाह्य पर्यटकहरु आगमनमा समस्याहरु रहेकाले त्यसलाई दीर्घकालीनरुपमा समाधानका लागि सम्बन्धित सरोकारवालासँग लगातार छलफलमा रहेको बताउनुभयो ।
“सीमाक्षेत्रबाट धेरेजसो भारतीय पर्यटकहरु नेपाल आउनुहुन्छ, सीमाक्षेत्रमा केही समस्या देखिएका छन्, उहाँहरुमाथि अपमान तथा दुव्र्यवहार हुनेगरेका कुराहरु सुन्नमा आएको छ, यसलाई दीर्घकालीन समाधानका लागि सरोकारवालासँग छलफल गरिरहेका छौँ” उहाँले भन्नुभयो, “आवश्यक सूचनाहरु सीमाक्षेत्रमै राखेका छौँ, दिनुपर्ने रिजल्ट सरकारले तर्फबाट दिन सकेका छेनौँ ।”
मन्त्री न्यौपानेले भन्नुभयो, “भारतबाट आउने पर्यटकहरुलाई सरल व्यवहार गर्न जरुरी छ, उहाँहरुलाई अप्ठ्यारो हुनेगरी कसैले पनि व्यवहार गर्नुहुँदैन ।” “सरकारले पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना बनाउने, आउने वातावरण सिर्जना गरिदिने, आवश्यक पूर्वाधारको निर्माण गरिदिने तथा प्रचार–प्रसार गर्ने हो, सुरक्षाको ग्यारेन्टी गराइदिने हो, पर्यटकहरु आइसकेपछि सबैभन्दा पहिला ठोकिने भनेको होटलसँग हो, होटल व्यवसायीहरुले उहाँहरुलाई सम्मान र सत्कारका लागि कुनै कसर बाँकी राख्नुहुन्न ।”
उहाँले भन्नुभयो, “पर्यटकहरुलाई अर्गानिक खाना खुवाउनुहोस्, फेरि पनि आउने वातावरण सिर्जना गरिदिुनहोस्, उहाँहरुलाई आकर्षण गराउने भनेको तपाइँको व्यवहारले हो, निजी क्षेत्रको नै यसमा महत्वपूर्ण भूमिका हुन्छ ।”
लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको र ठाउँठाउँमा प्रचारात्मक सामग्रीहरु समेत राखिएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटन एक चलायमान उद्योग भएको भन्दै उहाँले यो कार्यक्रम एउटा मार्केटिङ प्लेटफर्म भएको बताउनुभयो । उहाँले दुवै प्रदेशका सरोकारवालाले आफ्ना पर्यटकीय क्षेत्रका बारेमा बजारीकरण गर्न महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले नेपालका पर्यटकीय क्षेत्रमध्ये ८० प्रतिशत पर्यटकलाई राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र अवलोकन गर्न आउने बताउनुभयो । उहाँले आन्तरिक तथा वाह्य पर्यटकलाई भ्रमणका लागि बाँके निकुञ्जभित्र आवश्यक सबै पूर्वाधारहरु तयार गरिएको बताउँदै त्यहाँसम्म पर्यटकलाई लैजाने वातावरण पर्यटन व्यवसायीले गर्नुपर्ने बताउनुभयो ।
“बाँके निकुञ्जकै अगाडि भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु बाघ हेर्न भनेर बर्दिया निकुञ्ज जानुहुन्छ, बाँकेमा पनि बाघहरु छन्, तर यहाँ पस्नुहुँदैन्, आवश्यक प्रचारप्रसार, समन्वयकारी भूमिकाका लागि सबै निकायको खाँचो छ, पर्यटन व्यवसायीले थप पहलकदमी लिन जरुरी छ” उहाँले भन्नुभयो ।
नाट्टा गण्डकी अध्यक्ष किशोर दाहालले दुईप्रदेशीय पर्यटन प्रवर्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष राजेश पहाडीले पछिल्लो समयमा पर्यटन व्यवसाय चलायमान भएको भन्दै विशेषगरी आन्तरिक र भारतीय पर्यटकलाईलाई लक्षित गरेर सीमाक्षेत्रमा गरिएको यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतीय र आन्तरिक पर्यटकहरुलाई पोखरासम्म पु¥याउनका लागि यसअघि सीता एअरको जहाज चार्टर गरेर नेपालगन्ज–पोखरा ४० फ्लाइट गराइएको र हाल आएर बुद्ध एअरले साप्ताहिक तीन फ्लाइट सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
नेपालगन्ज र पोखराका पर्यटन व्यवसायीहरु सहभागी रहेको कार्यक्रममा भारतीय पत्रकार एसके मधेसीया, नाट्टा पाल्पा अध्यक्ष राजीव शाह, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट लगायतले धारणा राख्नुभएको थियो ।