• १८ भदौ २०८२, बुधबार

जनकपुरधाममा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

blog

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीबारे छलफल ।

लक्ष्मी चौधरी

जनकपुरधाम, भदौ १८ गते । जनकपुरधाममा आगामी कात्तिक २७ देखि ३० गतेसम्म पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०२५ आयोजना हुने भएको छ । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना हुन लागेको हो ।

उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कुशवाहाले चार दिनसम्म चल्ने यस कार्यक्रममा घरेलु तथा साना उद्योगहरूको स्थापनाका लागि आवश्यक अत्याधुनिक उपकरण, मेसिनरी सामग्री र उत्पादनहरूको प्रदर्शनी गरिने बताउनुभयो । उहाँले प्रदर्शनीमा उद्योग सञ्चालन, व्यवस्थापन, वित्तीय जानकारी तथा बजार विस्तारसम्बन्धी विशेष तालिम र परामर्श पनि दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनीले स्थानीय उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा जोड्न र नयाँ प्रविधिबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”

यस प्रदर्शनीमा घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्धनका लागि भारत, बङ्गलादेश, इन्डोनेसियालगायत पाँचभन्दा बढी राष्ट्रका उत्पादक संस्थाहरूको सहभागीता रहने अनुमान गरिएको गरिछ भने प्रदर्शनीको सम्पूर्ण जिम्मेवारी सिया इभेन्टसले गरिरहेको बताउनुभयो ।

प्रदर्शनीमा उद्योग स्थापनाका लागि आवश्यक अत्याधुनिक उपकरण, मेसिनरी र उत्पादनहरूको प्रदर्शनी गरिने छ । यसका साथै, उद्योग सञ्चालन, व्यवस्थापन, वित्तीय जानकारी र बजार विस्तारसम्बन्धी विशेष तालिम र परामर्श सत्रहरू पनि सञ्चालन गरिने छ । प्रदेश सरकारको यो पहलले स्थानीय उद्योगीलाई नयाँ प्रविधि र वित्तीय ज्ञान प्रदान गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।