• १८ भदौ २०८२, बुधबार

सिँचाइका लागि विद्युतीय मोटरकै भर

blog

फाइल तस्बिर

सर्लाही समाचारदाता

सर्लाही, भदौ १८ गते । सर्लाहीका किसान धानबालीमा सिँचाइका लागि विद्युतीय मोटरको भर पर्न बाध्य भएका छन् । यो वर्ष किसानले धान रोपाइँका लागि पानीको अभाव झेल्नु परेको थियो । जसोतसो धान रोपाइँ गरेका किसानले अहिले गोड्ने बेलामा पनि विद्युतीय मोटर नै चलाएर बाली सुक्नबाट जोगाइरहेका छन् । 

हरिपुर नगरपालिका–७, चिताइनका जयनारायण चौधरी आकासे वर्षा नहुँदा दिनरात विद्युतीय मोटर नै चलाएर धान खेतमा पानी लगाउनु परेको बताउनुहुन्छ । 

साउन मध्यतिर केही दिन आकासे वर्षा भएपछि किसानलाई राहत मिलेको थियो । त्यसपछि भने पुनः वर्षा हुन छाडेसँगै सिँचाइको समस्या परेको हो । वर्षा नभएकाले यहाँका अधिकांश खोला सुकेका छन् । बागमती सिँचाइ आयोजनाबाट पर्याप्त पानी वितरण नहुँदा तल्लो भेगको नहरसम्म पर्याप्त पानी पुग्न सकेको छैन । लालबन्दी नगरपालिका–४, हरिभवनका किसान केदार कार्कीले बागमती सिँचाइ आयोजनाले नहरमा थोरै मात्रामा छाडेको पानी पालो लगाएर पढाउने गरेको भए पनि अपुग रहेको गुनासो गर्नुभयो । यो वर्ष धान रोपाइँ गरेपछि धान खेत भरिभराउ हुने गरी पानी पर्नै नसक्दा सिँचाइको जहिल्यै समस्या परिरहेको कार्कीको भनाइ छ । 

आकासे वर्षा नभए पनि मोटर चलाएर पानी आउने ठाउँका किसानले सिँचाइ गरिरहे पनि भूमिगत पानी नआउने ठाउँका किसान भने समस्यामा परेका छन् । सुक्खा क्षेत्रमा पर्ने सर्लाहीको पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ पूर्ण रूपमा आकासे वर्षाको भर रहेको छ । पानी नपरेर सुक्खा बढ्दा विद्युतीय मोटरको प्रयोग बढेर नेपाल विद्युत् प्राधिकरणलाई पुनः भार व्यवस्थापन गर्न समस्या पर्न थालेको छ ।