काठमाडौं, असार १२ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व चयन भएसँगै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको भविष्य बारे चासो सुरु भएको थियो । अलमुताइरी नेपाल आउन सक्ने या नसक्ने दुविधाबीच एन्फा नयाँ नेतृत्वले अलमुतइरीसँग संवाद सुरु गरेको छ । एन्फाका महासचिव किरण राईले अलमुताइरीसँग संवाद गर्नुभएको हो ।
अलुमताइरीसँगको संवादबारे महासचिव राईले भन्नुभयो, ‘टोलीको प्रशिक्षण र आगामी सहकार्यको विषयमा अलमुताइरीसँग कुराकानी भएको छ । उहाँले अहिले एन्फालाई पुरानै ‘कोचिङ प्लान’ पठाउनु भएको छ । अलमुताइरीले सेप्टेम्बरसम्म विदा लिनुभएकोले सोही समयसम्मको ‘कोचिङ प्लान’ एन्फालाई पठाउनु भएको हो।’
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नजिक मानिने अलमुताइरीले एन्फाको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा पंकजविक्तम नेम्वाङ निर्वाचित भएपछि प्रशिक्षक पद छाड्न सक्ने अड्कलबाजी गरिएको थियो । यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष रहनुभएका नेम्वाङसँग विमती राख्दै अलमुताइरीले आफुले नेम्वाङका कारण प्रशिक्षक छाडेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको थियो । प्रशिक्षक अलमुताइरी र नेम्वाङबीचको विवाद मिलाउन त्यतिवेला एन्फालाई हम्मेहम्मे परेको थियो ।
पछिल्लो पटक फेरि अलमुताइरी र एसिया कप छनोटको बन्द प्रशिक्षणमा रहेका खेलाडीबीच मनमुटाव हुँदा टोलीका १० जना सिनियर खेलाडीले प्रशिक्षण क्याम्प नै छाडेर बिद्रोह गरे । प्रशिक्षक अलमुताइरीले बिद्रोहमा उत्रिएका खेलाडीविनै नयाँ खेलाडीलाई टोलीमा समावेश गरेर एसिया कप छनोट खेल खेलाउनुभयो ।
कुवेतमा दुई साताअघि भएको एसिया कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल समूहको तीनवटै खेलमा पराजित भएको थियो । नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० गोलको हार खेप्दै छनोटबाट बाहिरिएको थियो ।
एसिया कप छनोट सकिएसँगै अलमुताइरी स्वास्थ्य जाँच गर्न भन्दै कुवेतमै बस्नु भएको छ । तर एन्फा नयाँ नेतृत्वको पहिलो बैठकले बिद्रोह गरेर क्याम्प छाडेका १० खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने निर्णय गरिसकेको छ ।
महासचिव राईले अलमुताइरी सम्पर्कमा आएपनि तत्काल नेपाल आउने सम्भावना कम रहेको समेत बताउनुभयो । ‘उहाँले सम्पर्कमा स्वास्थ्य उपचारको क्रममा रहेको बताउनुभएको छ । नेपाल आउन केही समय लाग्ने जानकारी पनि गराउनुभएको छ । प्रशिक्षक नेपाल आएपछि छलफल गरेर निश्कर्षमा पुग्नेछौं,’ राईले भन्नुभयो ।
एन्फाले अलमुताइरीलाई निरन्तरता दिने या नदिने विषयमा स्वयं प्रशिक्षक, कतार फुटबल संघ र एन्फाबीच त्रिपक्षीय छलफलबाट मात्र टुंगो लगाउन सकिने राईको भनाई छ । पछिल्लो पटक खेलाडी र प्रशिक्षकबीच देखिएको विवाद समाधान गर्न एन्फाले छुट्टै छानविन समिति समेत बनाएको थियो ।
समितिले प्रशिक्षकको एकलौटी र स्वेच्छाचारी रुपमा काम गर्ने प्रवृत्ति बढेको भन्दै ‘चेन अफ कमान्ड’ अनुसार काम गर्न निर्देशित गरेको थियो । समितिले प्रशिक्षकबाट बारम्बार विवाद निम्त्याउने र सामाजिक सञ्जालमा अनावश्यक टिक्काटिप्पणी गर्ने गर्दा राष्ट्रिय टोलीमा स्वच्छ वातावरण नभएको भन्दै एसिया कप छनोट पछि कतार फुटबल संघसँग सहमति गरेर अलमुताइरीको विकल्प खोल्न एन्फा सचिवालयलाई सिफारिस समेत गरेको थियो । अलमुताइरीसँग एन्फाले २०२४ सम्म सम्झौता गरेको छ ।
कतारसँग जोडिएको नेपाली फुटबल
एन्फाको अघिल्लो कार्यसमितिलाई कतार फुटबल संघबाट ठूलो आर्थिक सहयोग प्राप्त हुँदै आएको थियो । फिफा विश्वकप २०२२ अन्तर्गत नेपालको फुटबल विकासमा कतारले ठूलो सहयोग गर्दै आएको छ ।
अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नु पनि कतारकै देन हो । अलमुतारीलाई एन्फाले कतार फुटबल संघको सहयोगमा टोलीको प्रशिक्षक बनाएको हो । अलमुताइरीको मासिक १० हजार अमेरिकी डलर कतार फुटबल संघले नै बेहोर्दै आएको छ ।
यससँगै कतार फुटबल संघले नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिगको समेत मुख्य प्रायोजन गरेको छ । कोरोनाका कारण लिगको प्रायोजन नपाएको एन्फालाई कतार एयरलाइन्सले बार्षिक एक लाख ५० हजार अमेरिकी डलर प्रायोजन गरिरहेको छ ।
साथै कतारले नेपालको फुटबलमा कोचिङ कोर्स, प्रो-लाइसेन्स कोर्स, कतारमै लगेर घाइते खेलाडीको महंगो उपचार गरिदिने, विदेशमा खेल्न जानुअघि कतारमै क्लोज क्याम्प र ट्रेनिङको सम्पूर्ण सुविधा, रिहाव ट्रेनिङलगायत सहयोग गर्दै आएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                