• १३ वैशाख २०८१, बिहिबार

मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १२ गते । नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौंले मातृभाषामा पत्रकारिताको अवस्था विषयक एकदिने मातृभाषी पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा मातृभाषी पत्रकार तथा विज्ञहरुले आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

सोअघि लेखक राकेश महार्जनद्वारा लिखित ‘आमसञ्चार व नेपाल भाषाया पत्रकारिता किताव’ लोकार्पण गरिएको थियो । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, नेवा पत्रकार राष्ट्रिय दवुका केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठ, फोनिज काठमाडौं शाखाका अध्यक्ष शैलेश डङ्गोल तथा लेखक महर्जनले संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यको पनि सहभागिता थियो । सो अवसरमा उहाँले मातृभाषा पत्रकारिताको संरक्षणका आवश्यकता रहेको बताउनुभयो । आफू महानगरको प्रमुखको जिम्मेवारीमा रहँदा नेपाल भाषा संरक्षण तथा यहाँको संस्कृतिको सम्बर्धनमा सहयोग गरेको बताउनुभयो । आगामी दिनमा पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले भाषा साहित्य तथा संस्कृति हरेक समुदायको पहिचान र अस्तित्व भएकाले त्यसको संरक्षणमा लाग्नु सबैको कर्तव्य भएको बताउनुभयो । महानगरले यसअघिदेखि सो क्षेत्रमा काम गरिरहेको र आफू महानगरको नेतृत्वमा रहँदा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौं शाखाका अध्यक्ष अर्विन्द्रमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मातृभाषी पत्रकार तथा साहित्यकारहरुले आफ्नो भाषा साहित्य तथा संस्कृतिको बारेमा संक्षेपमा जानकारी गराउनुभएको थियो । मातृभाषा साहित्य तथा पत्रकारिता प्रवर्धनमा राज्यको लगानी शून्यप्रायः भएकाले त्यसमा राज्यको लगानी बढाउन माग गर्नुभयो । 


सो अवसरमा संस्कृत भाषाका डा. नवराज कट्टेल, धिमाल भाषाका डा. सोमबहादुर धिमाल, थारु भाषाका लक्की चौधरी, शेर्पा भाषाका आङदावा शेर्पा, उर्दू भाषाका अब्दुल सलाम खान, मैथिली भाषाका मनोज झा, जिरेल भाषाका सुरज जिरेल, राजवंशी भाषाका अन्जु राजवंशी, डोटेली भाषाका दीपसागर पन्त, लिम्बू भाषाका विमला लिम्बू, मगही भाषाको राजकुमारी महतो, अवधी भाषाका हंसावती कुर्मी, राई भाषाक तिलक चाम्लिङ राई, नेवा भाषाको सुरेशकिरण मानन्धरलगायतले मातृभाषा पत्रकारिताको अवस्था र राज्यले गर्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो । 

सो अवसरमा फोटो पत्रकार मनोजरत्न शाहीद्वारा निर्देशित दि हेरिटेज डेष्टिनेशन स्वयम्भु नामक बृत्तचित्रको प्रदर्शन गरिएको थियो । बृत्तचित्तमा स्वयम्भुबारेमा सुक्ष्म अध्ययन गरी त्यसको महत्वबारे दर्शाइएको छ ।