• १७ भदौ २०८२, मङ्गलबार

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु

blog

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र), भदौ १७ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बासलले भन्नुभयो, “इजरायली लडाकू विमानले दक्षिणपश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।”

उहाँका अनुसार इजरायली हेलिकाेप्टरले सहरको पश्चिममा रहेको अपार्टमेन्टमा पनि आक्रमण गरेको र त्यहाँ तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठुलो सहरी केन्द्र गाजा सहर कब्जा गर्ने तयारी गर्दै आक्रमण तीव्र बनाएको छ र निकासीको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजा सहर र वरपर करिब १० लाख मानिस बस्छन्, जहाँ अनिकाल घोषणा गरिएको छ । एएफपीका तथ्याङ्कअनुसार हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारण गरी एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो । 

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली जवाफी आक्रमणमा अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार पाँच सय ५७ प्यालेस्टिनीको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो ठानेको छ । रासस/एएफपी