• १७ भदौ २०८२, मङ्गलबार

‘लम्पी स्किन’बाट १० वटा गाई मरे

blog

कल्पना खरेल

नवलपरासी पश्चिम, भदौ १७ गते । पशुहरूमा लाग्ने लम्पी स्किन सङ्क्रमणबाट नवलपरासी पश्चिममा १० वटा गाई मरेका छन् । दुई महिनाअघि मात्र बर्दघाट नगरपालिकामा एउटा गाईमा देखिएको यो रोगको सङ्क्रमण अहिलेसम्म आइपुग्दा गाई र भैँसी गरी जम्मा २६९ मा देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले जनाएको छ । सङ्क्रण देखिएकामा २५८ गाई र ११ वटा भैंसी रहेका छन् । 

सङ्क्रमण देखिएकामध्ये १० वटा गाई मरेको विज्ञ केन्द्रकी पशु चिकित्सक डाक्टर विभुती सिंहले बताउनुभयो । सबैभन्दा बढी सुनवलमा ६ वटा, बर्दघाटमा २, रामग्राम र सरावलमा १-१ वटा मरेका छन्।

यो रोग गाई र भैँसीमा त्यसमध्ये पनि सबैभन्दा बढी गाईमा देखिने गरेको छ । अहिले देखिएको सङ्क्रमणमा गाईका बाच्छा बाच्छी र भैँसीका पाडापाडीमा बढी रहेको छ । त्यसैगरी खोप लगाउन छुटेका गाईभैँसीमा पनि सङ्क्रमण बढी देखिएको छ । पछिल्लो समय सङ्क्रमण बढ्दै गएको केन्द्रले जनाएको छ । सातामा ३० देखि ३५ वटा गाईभैँसीमा सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ ।

सङ्क्रमण फेलिन नदिन सबै पालिकामा खोप पठाइएको विज्ञ केन्द्रले जनाएको छ । सङ्क्रमण फैलिनु अघि असार महिनामा मात्र जिल्लामा २३ हजार पशुमा खोप लगाइएको पशु चिकित्सक डाक्टर सिंहले जानकारी दिनुभयो । अहिले प्रतापपुरमा ५ हजार, सुस्तामा ५ सय खोप पठाएर लगाउने कार्य भइरहेको छ । ‘खोपको समस्या छैन । अहिले पनि हामीसँग साढे १० हजार खोप स्टकमा छ । क्रमशः अन्य पालिकामा आवश्यकताअनुसार पठाउँछौं । ’ पशु चिकित्सक सिंहले बताउनुभयो ।  

जिल्लामा करिब ८३ हजार ४८८ गाईभैँसी छन् । जसमा गाईको सङ्ख्या ४४ हजार ९८८ र भैँसीको सङ्ख्या ३८ हजार ५ सय रहेको केन्द्रले जनाएको छ । यो सरुवा रोग हो । झिँगा, भुसुना, लामखुट्टेबाट सर्ने यो रोगबाट बचाउन  खोप लगाउनु नै उत्तम उपाय रहेको पशु चिकित्सकहरूले बताएका छन् । 

पशुहरूलाई सङ्क्रमणबाट बचाउन सङ्क्रमित पशुहरूबाट टाढा राख्ने, नयाँ पशु ल्याउँदा रोग भए नभएको पहिचान गरेर मात्र ल्याउने र विशेष हेरचाहसहित स्याहर सुसारमा ध्यान दिनुपर्ने पशु चिकित्सक डाक्टर सिंहको सुझाव छ । लम्पी स्किन लागेका पशुचौपायाहरूमा १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, दानापानी कम खाने, छालामा साह्रो गोलो गाँठाहरू देखिने, नाक, मुख, पुच्छर, अन्डकोषलगायतका स्थानमा दुख्ने खालको गाँठो देखिने लक्षण देखिने गरेको पशु चिकित्सकहरूले जनाएका छन् ।