यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) भदौ १७ गते। बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट विगत एक वर्षदेखि बन्द रहेको छ। अक्सिजन प्लान्ट बन्द हुँदा अस्पतालमा आवश्यक अक्सिजन नेपालगन्जदेखि ल्याउनुपर्ने बाध्यता रहेको छ।
बर्दिया अस्पतालमा कोभिडको दोस्रो लहरको समयमा उत्पादन सुरु भएको अक्सिजन बन्द भएपछि बर्दियावासी नेपालगन्ज अक्सिजन लिन जान बाध्य भएका छन्।
बर्दिया अस्पताललाई बिरामीको चाप अनुसार मासिक दुई सय थानसम्म ठुलो सिलिन्डरको अक्सिजन आवश्यक पर्ने बर्दिया अस्पतालले जनाएको छ। बर्दिया अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेले अक्सिजन नहुँदा नेपालगन्जदेखि ल्याउनु पर्ने बाध्यता रहेको बताउनुभयो।
बर्दिया अस्पतालमा अक्सिजनको समस्या भएपछि कोरोनाको समयमा सङ्घीय सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको थियो। सङ्घीय सरकारको करिब ८२ लाख लगानीमा प्लान्ट स्थापना गरेको थियो। प्लान्टका लागि १८ लाख लगानी गरेर भवन निर्माण गरिएको थियो।
अक्सिजन प्लान्ट निर्माण भएपछि बर्दिया अस्पतालले करिब ४५ लाखको लागतमा अस्पताल भित्र पाइपलाइन विस्तार गरेको छ।
दैनिक २० एमएम अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको प्लान्ट हाल मर्मत सम्हारका लागि बजेट नहुँदा अलपत्र परेको छ।