• १७ भदौ २०८२, मङ्गलबार

संयुक्त विद्यार्थी संगठनद्वारा विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

blog

कार्यवाहक प्रधानमन्त्री प्रकाशनमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताहरू ।

काठमाडौँ, भदौ १७ गते । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध १३ वटा विद्यार्थी संगठनले आन्दोलित हुँदै संशोधनको माग गरेका छन् । 

संयुक्त रूपमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनहरूले विधेयकले शैक्षिक निजीकरणलाई संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई कमजोर पार्ने र युवालाई विदेश पलायनतर्फ धकेल्ने खालको प्रावधान ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

२०८२ भदौ ५ गते संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई संसदमा दर्ता भएको सो विधेयकले पुरानो शिक्षा ऐन, २०२८ लाई प्रतिस्थापन गर्न लागेको हो । ५४ वर्षपछि आउन लागेको नयाँ ऐनले संविधानको मर्मअनुसार शिक्षामा आमूल सुधार गर्ने अपेक्षा रहेकामा विधेयकले त्यसलाई लत्याएको विद्यार्थी संगठनहरूको भनाइ छ ।

संगठनहरूले संविधानमै व्यवस्था भएअनुसार आधारभूत तहसम्म शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म पूर्ण निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरेका छन् । साथै समाजवादी शिक्षा नीति आत्मसात् गर्दै समावेशी सिद्धान्तमा आधारित शिक्षा प्रणाली विकास गर्न पनि जोड दिएका छन् ।

ज्ञापनपत्रमा प्रस्तुत अन्य मागहरूमा —

  • शिक्षा क्षेत्रमा बजेट तीनै तहका सरकारले न्यूनतम २० प्रतिशत विनियोजन गर्नुपर्ने,
  • निजीकरण र व्यापारिकरण अन्त्य गरी शिक्षा पूर्णरूपमा सेवामुखी बनाउनुपर्ने,
  • नयाँ निजी शिक्षण संस्था खोल्न रोक लगाउनुपर्ने,
  • शिक्षक सेवाको उमेरहद १८ देखि ४० वर्ष कायम राख्नुपर्ने,
  • राज्य कोषबाट सेवा सुविधा लिने जोसुकैको सन्तानलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमै पढाउनुपर्ने,
  • मातृभाषा, नेपाली भाषा र कम्तीमा एक अन्तर्राष्ट्रिय भाषामा पठनपाठनको समानता कायम गर्नुपर्ने,
  • शिक्षक नियुक्ति प्रक्रिया पूर्ण प्रतिस्पर्धात्मक र समावेशी बनाउनुपर्ने,
  • ‘टिचर्स एकेडेमी’ स्थापना गरी शिक्षक प्रशिक्षण र अनुसन्धानलाई व्यवस्थित बनाउनुपर्ने,
  • छात्रवृत्तिलाई एकीकृत गर्दै केन्द्रीय विद्यार्थी छात्रवृत्ति पोर्टल निर्माण गर्नुपर्ने, जस्ता बुँदाहरू समावेश छन् ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू यसप्रकार छन् :

  • दुजाङ शेर्पा, अध्यक्ष, नेपाल विद्यार्थी संघ
  • डा. सुजन कडरिया, अध्यक्ष, अनेरास्ववियु
  • विजय प्रकाश शर्मा (सापकोटा), अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)
  • महेश श्रेष्ठ, अध्यक्ष, अनेरास्ववियु (समाजवादी)
  • मनिष कुमार यादव, अध्यक्ष, समाजवादी विद्यार्थी युनियन नेपाल
  • विरन्द्र शाह, अध्यक्ष, अखिल (क्रान्तिकारी)
  • सुवास जीसी, अध्यक्ष, अखिल (छैठौं)
  • महेश श्रेष्ठ, संयोजक, अखिल (क्रान्तिकारी)
  • पोषण यादव, केन्द्रीय संयोजक, विद्यार्थी जनमत संघ
  • बलबहादुर रम्तेल, अध्यक्ष, नयाँ शक्ति विद्यार्थी युनियन
  • रोशन मिश्र, अध्यक्ष, लोकतान्त्रिक विद्यार्थी संघ
  • हिमांशु, अध्यक्ष, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन
  • पवित्रा आचार्य, अध्यक्ष, अखिल (पाँचौं)
  • पंकज देव, अध्यक्ष, राष्ट्रिय विद्यार्थी मञ्च
  • मिनिन भरतई, अध्यक्ष, अखिल नेपाल विद्यार्थी युनियन
  • प्रकाश सामिलुङ राई, अध्यक्ष, समाजवादी विद्यार्थी युनियन