प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ १७ गते । रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।
अतिक्रमण हटाउन बारम्बार नगरपालिकाले आग्रह गर्दा अटेरी गरेपछि नगरपालिकाको टोली आफैँ फुटपाथ खाली गराउन सुरु गरेको नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो । मङ्गलबार बिहान चन्द्रनिगाहपुर चोकमा पालिकाले फुटपाथ खाली गराएको हो ।
महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्मको फुटपाथ खाली गराउन लागिएको नगरप्रमुख काफ्लेले जानकारी दिनुभयो ।
फुटपाथ खाली गराउने कार्य सराहनीय रहेको नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले बताउनुभयो । फुटपाथ खाली भएपछि शहरको सौन्दर्यीकरण बढ्ने, पार्किङमा समस्या नहुने तथा सडकपेटीमा भिडभाड नहुने उहाँले बताउनुभयो ।