सुगौली सन्धिपछि सुदूरपश्चिमको समग्र प्रशासन हेर्न डोटीको सिलगढीमा गौडा स्थापित भयो । गौडामा कार्यरत कर्मचारीहरू सबै काठमाडौँबाट नियुक्त भएर गए ।
नेपाल एकीकरणपछि सुदूरपश्चिम क्षेत्र र काठमाडौँ सम्पर्कमा आए । भूगोल जोडिएको धेरै समय भए पनि जनस्तर र सांस्कृतिक रूपमा सूदूरपश्चिम र काठमाडाैँ उपत्यका जोडिन धेरै समय लाग्यो ।
विसं १८४७ मा सुदूरपश्चिम भौगोलिक रूपमा नेपालसँग जोडियो । सांस्कृतिक रूपमा जोडिन भने लामो समय कुर्नु पर्यो । सांस्कृतिक रूपमा सुदूरपश्चिमलाई काठमाडौँसँग जोड्ने कार्यको थालनी जनकविकेशरी धर्मराज थापाबाट भयो । उसो त प्रधानमन्त्री जङ्गबहादुरले काठमाडौँमा फागु र बिहेमा हुने नाचगानमा डोटीबाट पातरहरू नबोलाएका होइनन् तर त्यसले समग्र सुदूरपश्चिमलाई सांस्कृतिक रूपमा काठमाडौँसँग जोड्न सकेको थिएन ।
कुमाउ गढवाल, काँगडासम्मको पश्चिमी एकीकरण अभियानमा बझाङ, दर्ना, थलारा, बाजुरा राज्यको सहयोग रह्यो । बझाङका राजा इन्द्र सिंहले एकीकरण अभियानका क्रममा आफैँ कुमाउ पुगेका थिए ।
राजकुमार छँदा इन्द्र सिंह १४ वर्ष काठमाडौँको कान्तिपुर दरबारमा बसेको इतिहास छ । उनले कान्तिपुर आएर शाहवंशीय राजाहरूसँग निकट सम्बन्ध स्थापित गरेका थिए ।
सुगौली सन्धिपछि सुदूरपश्चिमको समग्र प्रशासन हेर्न डोटीको सिलगढीमा गौडा स्थापित भयो । गौडामा कार्यरत कर्मचारीहरू सबै काठमाडौँबाट नियुक्त भएर गए । त्यस क्रममा सुदूरपश्चिम र काठमाडौँका उच्च घरानाबीच वैवाहिक सम्बन्ध पनि सुरु भइसकेको थियो ।
नेपाल एकीकरणमा साथ दिएको र कान्तिपुर दरबारसँग सम्बन्ध स्थापित गरेका कारण बझाङका राजा इन्द्र सिंहका छोरा राजकुमार गजराज सिंहको विवाह राजा गीर्वाणयुद्धविक्रम शाहकी शाहजादी सरस्वतीकुमारीसँग भयो । दाइजोमा उनले तत्कालीन धादिङ हाल नुवाकोटको तारुका र बट्टारमा बिर्ता पाइन् । बनेपासमेत उनलाई दिइयो ।
पश्चिम अभियानका कमान्डर बडाकाजी अमरसिंह थापाले समेत एउटा विवाह डोटीबाट गरेका थिए । उनकी ती कान्छी श्रीमतीको नाम लालवतीदेवी थियो । प्रधानमन्त्री जङ्गबहादुर राणाकी रानीसमेत डोटीकी थिइन् । पछि प्रधानमन्त्री जङ्गबहादुर राणाका दुइटी छोरी रुद्रकुमारी र मेघकुमारीको विवाह बझाङका राजा भूपेन्द्र सिंहका छोरा विक्रमबहादुर सिंहसँग भयो । रुद्रकुमारी जयपृथ्वीबहादुर सिंहकी आमा हुन् भने मेघकुमारी जयपृथ्वीका सौतेला भाइ देवीजङ्गबहादुर सिंह (जयपृथ्वीपछि बझाङका राजा) की आमा हुन् ।
एकीकरणपछि सुदूरपश्चिमको मुख्य मुकाम डोटीको सिलगढी थियो । सिलगढीमा चौतरिया पुष्कर शाहले काठमाडौँको कला संस्कृति झल्कने गरी मठमन्दिर, घर, दरबार निर्माण गरे । पछि व्यापारको सिलसिलामा भक्तपुर, दोलखा, बागलुङ र पाल्पामा पहिल्यै बसाइँ सरेका नेवार समुदायसमेत सिलगढी पुगे । उनीहरूले त्यहाँ व्यापार व्यवसाय चलाए । त्यहाँबाट केही नेवार व्यापारी बझाङसमेत बसाइँ सरेका थिए ।
यसरी सुदूरपश्चिमबीच काठमाडौँ सुदूरपश्चिमबीच प्रशासनिक तथा उच्च घरानाबीच वैवाहिक सम्बन्ध स्थापित भए पनि जनस्तरमा कुनै सम्बन्ध थिएन । राणाकालको अन्त्य भई २००७ सालको क्रान्तिबाट प्रजातन्त्र आइसक्दा पनि सुदूरपश्चिमबाट मुद्दा मामिला, जागिर र राजनीतिको सिलसिलामा सीमित मानिसको काठमाडौँ आउजाउ त भयो तर जनस्तरमा सबै काठमाडौँसँग जोडिएका थिएनन् ।
उसो त सन् १८७६ मै वेल्सका राजकुमार अल्बर्ट एडवर्ड सिकार खेल्न कञ्चनपुर आएका थिए । उनले प्रधानमन्त्री जङ्गबहादुरसँग बेलडाडी र वनबासामा सिकार खेले । त्यसपछि प्रधानमन्त्री वीरशमशेरका पालामा सन् १८९३ मा सिकार खेल्न कञ्चनपुर आएका अस्ट्रियाका राजकुमार आर्कड्युक फ्रान्ज फर्डिनान्डले १७ वटा बाघ मारेका थिए । पछि उनै राजकुमार फर्डिनान्डको हत्याका कारण पहिलो विश्वयुद्ध भएको थियो ।
२००७ सालको खुला राजनीतिक वातावरणपछि २०१३ सालमा टोनी हेगन बझाङको सत्यवादी स्कुल पुगेका थिए । उनले त्यस क्रममा खिचेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा हेर्न सकिन्छ । स्थानीयस्तरमा योगी नरहरिनाथ र बझाङका राजा रामजङ्गबहादुर सिंहले सुदूरपश्चिमको इतिहासमा कलम चलाए । २०१३ सालमा तत्कालीन राजा महेन्द्र सुदूरपश्चिमको भ्रमणका सिलसिलामा कैलाली, डडेलधुरा, बैतडी र डोटी पुगेका थिए । त्यति बेलासम्म पनि सुदूरपश्चिम काठमाडौँसँग सांस्कृतिक रूपले जोडिएको थिएन । पछि सुदूरपश्चिमलाई काठमाडौँसँग जोड्ने सांस्कृतिक पुलको काम गरे जनकवि धर्मराज थापाले ।
२००७ सालका क्रान्ति योद्धा डोटीका डा. केआई सिंहको व्यक्तित्वबाट जनकविकेशरी थापा निकै प्रभावित थिए । त्यसैले थापाले डा. केआई सिंहबारे गीत नै रचना गरी रेकर्ड गरेका थिए । गीत यस्तो थियो, ‘क्रान्तिकारी हे वीर केआई सिंह कहाँ गयौँ झ्यालखाना तोडेर ...।’ पछि २०१५ सालको पहिलो आमनिर्वाचनमा डा. केआई सिंहको संयुक्त प्रजातन्त्र पार्टीको चुनावी गीत– ‘धानको बाला झुल्यो हजूर देशै रमाइलो ...’ गीतका रचनाकारसमेत धर्मराज थापा थिए ।
त्यसपछि जनकविकेशरी धर्मराज थापाले लोकगीत सङ्कलनका क्रममा पहिलो पटक सुदूरपश्चिम भ्रमण गरेका थिए । त्यस क्रममा थापा बझाङ, बाजुरा, अछाम, डोटी, डडेलधुरा र बैतडी पुगे । त्यस भ्रमणपश्चात् थापाले ‘मेरो नेपाल भ्रमण अभ्येषणापूर्ण लोकसंस्कृति र लोकगीत’ को नामक पुस्तक प्रकाशित गरेका थिए । जनकविको लेखाइ अनुसार गाउँको बसाइ सुखद भएन छ । बास बस्न मुखिया (जिम्मुवाल) गिरी भण्डारीको घरमा पुग्दा उनलाई मुखिनीले बास दिइन छन् । थापाले लेखे अनुसार त्यसै दिन मुखिया भण्डारीलाई डोटीका बडाहाकिमले सरकारिया अभियोगमा गिरफ्तार गरेर सिलगढी लगेका रहेछन् । श्रीमान् पक्रेर डोटी लगेको झाेँकमा रहेकी मुखिनीले बास माग्न आउने पाहुनालाई पनि सरकारी मानिस नै भन्ठानिछन् र बास दिइन छिन् ।
यसरी पहिलो पटक काठमाडौँसँग सुदूरपश्चिमलाई सांस्कृतिक रूपमा जोड्न सुदूरपश्चिम पुगेका जनकविकेशरी धर्मराज थापाले त्यस क्रममा स्थानीय युवालाई समेत काठमाडौँ आएर रेडियो नेपालमा गीत गाउन हौस्याए छन् । त्यस क्रममा जनकविको सम्पर्कमा आएका बझाङका परिमल स्नेही र डोटीका धनबहादुर मल्ल पछि रेडियो नेपालमा गीत गाउने पहिलो सुदूरपश्चिमेली कलाकार नै बने ।
त्यसपछि पनि जनकविले फेरि सुदूरपश्चिम भ्रमण गरे । उनले २०१७ सालमा प्रकाशित बझाङका लेखक जबरे धामीको ‘जालपादेवीको इतिहास’ नामक पुस्तकमा २०१५ चैत १६ गतेको मितिमा भूमिका लेखेका छन् । बझाङका लेखक मानबहादुर सिंह पहाडीले आफ्नो पुस्तक ‘थली’ मा २०२३ सालमा जनकवि केशरी धर्मराज थापा मकर सङ्क्रान्तिको पवित्र मेला बुङ्गल त्रिवेणीमा आएको भनेर लेखेका छन् ।
२०२४ सालको विकासोन्मुख नेपाल, वर्ष ५, अङ्क २ मा जनकविकेशरी धर्मराज थापाको दार्चुला भ्रमणसम्बन्धी यात्रा संस्मरण प्रकाशित छ । ब्यास गर्खाको ‘लोकसंस्कृति’ शीर्षकको यात्रा संस्मरणमा थापा २०२३ सालको मङ्सिरमा भारतको पिथौरागढ हुँदै जोलजीवी भएर दार्चुला पुगेका रहेछन् ।
यात्रा संस्मरणमा थापाले दार्चुलाको कला संस्कृतिबारे विस्तृत सामग्री पस्केका छन् । खासगरी हाल भारतद्वारा अतिक्रमित नेपालको व्यास गाउँपालिकाका बासिन्दा ब्यासी सौका समुदायको देशभक्तिलाई जनकविकेशरी थापाले प्रत्यक्ष अनुभूत गरेको उल्लेख छ । ब्यासी सौका समुदायद्वारा अभिव्यक्त देशभक्तिलाई शब्दचित्रमा उनले उतारेका छन् ।
जनकविकेशरी थापाले शब्दचित्रमा उतारेको ब्यासी सौका समुदायको राष्ट्रिय भावनाको गीतको सार :
फूल जस्तै फुलेको देशको लामो होइजाउ
आयू ... छ ।
स्थानीय भाषामा रहेको उक्त गीत यस्तो छ :
ईङ्ग देश नेपाल इन लै नेपाली
जन्म ईङ्गै हिमाल गै गोडा
सोङ, ईङ्ग तिङ्कर चौध हजार थैड
वसती ईङ्ग हिमाल यै गोड
सोङ् ईङ्ग तिङ्कर हिमालय गुन्दा
जन पन ली रिन् छम् ऐ इङ्गे धन्डा
अंचल महाकाली जिल्ला दार्चुला
पञ्चायत ईङ्ग ब्याँस विहांड
पलती फापर उवा र नपल
एक तुल्या भूमि ईङ्ग तिहांड
आवागमन ऐनाची चारी
छ महीना वर्षा छ महीना हिउँद
आधार ईङ्गै तिग्गै वेपार
उद्योग ईङ्ग अति अपार !
भावार्थ– हाम्रो देश नेपाल र हामी (नेपाली सबै) हिमालयको काखमा जन्म भयौँ । हाम्रो गाउँ टिङ्कर चौध हजार फुट अग्लो, हिमालयकै गोडामा बसेको छ । हाम्रो गाउँ चारैतिर हिमालयको माझमा छ । हाम्रो उद्योगधन्दा कृषि र व्यापार हो । हामी महाकाली अञ्चलभित्रको जिल्ला दार्चुला अन्तर्गत ब्यास पञ्चायतभित्रका हौँ । हाम्रो गाउँमा फापर, उवा, नपलभ भन्ने तीन थरी अन्न मात्र फल्दछ । हामी छ महिना हिउँद दार्चुलासम्म र छ महिना वर्षा माथि ब्यास गर्दै जीवन बिताउँछौँ ।
२०१५ र २०२३ सालमा दुई पटक सुदूरपश्चिम भ्रमणसहित जनकविकेशरी धर्मराज थापाले भ्रमणका क्रममा सङ्कलन गरेका लोकगीत पुस्तकका रूपमा प्रकाशित गरेका र त्यहाँ सुनेका लोकभाकालाई आफ्नो स्वरमा गाएका छन् । तीमध्ये जनकविकेशरी धर्मराज थापाले गाएको ‘रेसमले नानी यो पिरती नौलो ...’ बोलको गीत सुदूरपश्चिमको भाका र शब्दमा आधारित छ ।
–युवामञ्च