विष्णुप्रसाद पोखरेल
दमक, माघ २५ गते । एक दशक अघिदेखि निर्माणको चर्चा भएको र ५ वर्षअघि शिलान्यास भएको दक्षिण एशियाकै सबैभन्दा ठुलो भनिएको ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ अहिलेसम्म बन्न नसकेको विषयमा स्थानीयहरूले प्रश्न उठाउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयले यो विषयमा जिज्ञासा राखेका हुन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका ओलीलाई स्थानीय युवराज आचार्यले औधोगिक पार्कको विषयमा स्थानीयको धेरै जिज्ञासा रहेको भन्दै जवाफ माग्नुभयो ।
अध्यक्ष ओली आइतबार औधोगिक पार्क नजिकको बस्तीमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा जानुभएको थियो । ओलीले विभिन्न कारणले औधोगिक पार्कको काम रोकिएको बताउनुभयो । उहाँले यहाँ औधोगिक पार्क बनाएर छाड्ने दाबी पनि गर्नुभयो ।
“हामी बनाउन लाग्छौं तर यसलाई रोक्न लाग्ने पनि धेरै छन्” उहाँले भन्नुभयो । एक लाखलाई रोजगार दिने उद्देश्यले सुरु गरिएको औधोगिक पार्क निर्माणको काम अघि बढ्ने र बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
२०७७ साल फागुनमा तत्कालीन अवस्थामा प्रधानमन्त्री रहँदा अध्यक्ष ओली नै यो पार्कको शिलान्यास गर्नुभएको थियो । दमक नगरपालिका–१०, गौरादह नगरपालिका–५ र कमल गाउँपालिका–७ को सङ्गमस्थल रतुवा नदी आसपासमा दुई हजार दुई सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो । त्यसअनुसार जग्गा अधिग्रहण पनि भइसकेको छ ।
पहिलो चरणमा यहाँ विभिन्न प्रकारका उद्योगहरू स्थापना गर्न लगानी बोर्डले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको थियो । चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने बताइए पनि शिलान्यासपछि केही काम भएको छैन ।
अध्यक्ष ओलीले एमाले नेतृत्वको बहुमतको सरकार भएको अवस्थामा यो निर्वाचन लगत्तै काम सुरु हुने बताउनुभएको थियो । यहाँ औधोगिक पार्क बन्छ भनेर धेरै ठुलो आस बोकेका थियौं, स्थानीय तारा चाम्लिङले भन्नुभयो । ‘अध्यक्ष ओली आफैं आएर बनाउने प्रतिबद्धता जनाउँदा खुसी लागेको छ’, उहाँले भन्नुभयो ।