• २५ माघ २०८२, आइतबार

एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम

blog

काठमाडौंँ, माघ २५गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताउनुभएको छ ।

आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उहाँले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गर्नुभयो । उहाँले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनसमेत अनुरोध गर्नुभयो ।  

“पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो । उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा गौतमले भन्नुभयो । पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियानअन्तर्गत सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।

सरकारले आजदेखि आगामी फागुन १५ सम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन थालेको छ ।

यस्तै गत वर्षको खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि खोप लगाइने छ ।

मन्त्री गौतमले खोप सुरक्षित र महिलाको जीवन रक्षा गर्ने भएकाले सबैले लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्ना बालिकालाई खोप लगाउन अभिभावकले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने चार जनाको ज्यान जाने गरेको छ ।रासस