• २५ माघ २०८२, आइतबार

आइसिसी टी–२० विश्वकप : इङ्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

blog

विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौँ, माघ २५ गते । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनायो । इङ्ल्यान्डका लागि ज्याकोब वेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

ज्याकोबले सर्वाधिक ५५ रन बनाउनुभयो । उहाँले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान ह्यारी ब्रुकले ३२ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाउनुभयो ।

ओपनर जोस बट्लरले २६, विल ज्याक्सले अविजित ३९ रन बनाउनुभयो । अर्का ओपनर फिल साल्टले एक तथा टोम ब्यान्टोम र सान कुरान दुई दुई रन जोड्दै पेभेलियन फर्कनुभयो । जोफ्रा आर्चर एक रनमा रन आउट हुनुभयो । 

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई दुई तथा सन्दीप लामिछाने र शेर मल्लले एक एक विकेट लिनुभयो । यस खेलसँगै टी–२० विश्वकपमा शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले डेब्यू गर्नुभएको छ ।

नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग पहिलो पटक खेलेको हो । नेपाल आज इङ्ल्यान्डमाथि चमत्कारिक जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने अभियानमा छ ।

विश्वकपको समूह ‘सी’ मा  छ । यस समूहमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेको छ । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ । 

नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ । 

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।