• २५ माघ २०८२, आइतबार

ताप्लेजुङमा माघ २८ गतेदेखि एचपिभी खोप दिइने

blog

कार्यक्रममा सहभागी ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, माघ २५ गते । ताप्लेजुङमा यही माघ २८ देखि फागुन १ गतेसम्म एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालन हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङले आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित एक कार्यक्रममा खोप अभियानबारे जानकारी गराएको हो । जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको बैठकमा विद्यालय केन्द्रित खोप कार्यक्रम तीन दिनसम्म चल्ने जानकारी दिइयो ।

स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीका अनुसार १० देखि १४ वर्ष उमेर समूहका बालिका एवं किशोरीलाई यो खोप दिइने छ । विशेष गरी कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई लक्षित गरिएको यस कार्यक्रमका लागि जिल्लामा आवश्यक तयारी पूरा भइसकेको तिवारीले बताउनुभयो ।

जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रनाम जयरुले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि खोप अत्यन्त प्रभावकारी रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । नेपालमा दैनिक औसत चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै डा. जयरुले भन्नुभयो, “यो खोप एक पटक लगाए पुग्छ र यसको कुनै नकारात्मक असर छैन ।”

स्वास्थ्य कार्यालयका खोप अधिकृत दिनेश रायले यसपटक गत वर्ष छुटेका सहित एक हजार ३४२ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको जानकारी दिनुभयो । अभियानका लागि जिल्लाभर २०७ वटा खोप केन्द्र निर्धारण गरिएको छ, जसमध्ये अधिकांश विद्यालयमा रहने छन् । कार्यक्रम सफल पार्न २०३ जना स्वास्थ्यकर्मी र २०७ जना स्वयंसेविका परिचालन गरिने कार्यालयले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले खोप कार्यक्रमलाई सफल बनाउन स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सबै पक्षसँग समन्वय गरेर कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । यस्तै, जिल्ला समन्वय समितिका सदस्य भूपाल मादेन र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सुवास आचार्यले खोप अभियानको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।