काठमाडौँ, माघ २५ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उहाँले सरकार संविधानको मर्मअनुरूप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री अर्यालले नेपालको संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक अर्थमा सरकारले लागु गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गर्नुभयो ।
नेपालको संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउँदै उहाँले सबै समुदायको अधिकार संरक्षण गर्ने दायित्व सरकारले निभाउँदै आएको प्रष्ट पार्नुभयो ।
“राज्यको नीतिनिर्माण तहमा सबै समुदायको सहभागिता वृद्धि गर्न सरकार निरन्तर अग्रसर छ”, गृहमन्त्रीले भन्नुभयो, “समानुपाति समावेशी सिद्धान्त संविधानको मूल मर्म हो । यसलाई बचाउनु सबैको कर्तव्य हो ।”
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास र समृद्धिको काम गर्दा सरकारले आदिवासी जनजातिको सांस्कृतिक, भाषिक, भौतिक ज्ञानको संरक्षण र प्रवर्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुर्ख्याैली ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तीनदिने सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । तीनदिने सम्मेलनमा आदिवासी जनजातिका परम्परागत ज्ञानमाथि छलफल हुनुका साथै छलफलबाट निस्किएको निष्कर्षले राज्यको नीतिनिर्माण तथा रूपान्तरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सव यही माघ २७ गतेसम्म सञ्चालन हुने छ ।
त्यसैगरी, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले राज्यले आदिवासी जनजातिको परम्परागत संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्दै प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा कला र संस्कृति लोप हुँदैछन्, विकासका नाममा आदिवासीको मर्म मार्न पाइँदैन । सबैको कला, संस्कृतिको संरक्षण र प्रवर्धन गर्नु राज्यको दायित्व हो”, उहाँले भन्नुभयो । रासस