घोराही, भदौ १७ गते । लमही नगरपालिकाले गएको असार १० गते वडा नं. ३ स्थित कान्छिगाउँका २३ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाको पुर्जा (जग्गाधनी प्रमाणपत्र) वितरण गरिएको छ । लामो समयदेखि जग्गा जोतभोग गर्दै आए पनि पुर्जाविहीन भूमिहीन सुकुम्वासी घरपरिवारलाई जग्गाको मालिक बनाउने काम गरेको थियो ।
लमहीमा जग्गाको पुर्जाको माग गर्दै एक हजार ३३२ भूमिहीन सुकुम्वासी परिवारसहित सात हजार ८३५ परिवारले निवेदन दिएको भूमि शाखाका प्रमुख प्रकाश भण्डारी बताउनुहुन्छ । जसमा २३० भूमिहीन दलित र छ हजार २७३ अव्यवस्थित बसोबासी छन् । निवेदन दिएकामध्ये थप ७७ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने काम भइरहेको शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
लगत सङ्कलन, फारम प्रमाणीकरण, जग्गा नापजाँचको काम सकेर पालिकाले भूमि आयोग दाङमा पठाउने र आयोगको निर्णयअनुसार जग्गाको नक्साङ्कन गरेर हकदाबीका लागि सूचना प्रकाशित गरिएको भन्दै शाखा प्रमुख भण्डारीले भन्नुभयो, ‘‘जग्गा वितरणका लागि पालिकाले नक्साङ्कन गरेर सूचना निकालेको छ । सूचनामा कसैले हकदाबी नगरे आयोगमा पठाउने र आयोगमा पनि उजुरी नपरे जग्गाको पुर्जा वितरण हुनेछ ।’’
७७ परिवारमध्ये वडा नं. ३ जखेरामा २७ घर अव्यवस्थित बसोबासी, दुई घर भूमिहीन दलित र एक घर भूमिहीन सुकुम्वासी छन् । वडा नं. ३ कै कान्छीटोलमा १८, वडा नं. ४ को पथ्वरपुरुवामा १८, वडा नं. ७ को हस्नापुरमा ११ घर अव्यवस्थित बसोबासीको काम अघि बढेको छ ।
लमही जस्तै गढवा गाउँपालिकाले थप ३०९ घरपरिवार अव्यवस्थित बसोवासीलाई जग्गाको पूर्जा वितरणका लागि प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । सूचना अधिकारी संजित पौडेलका अनुसार ३०९ परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरणसँगै नापजाँच गरेर सूचना प्रकाशन, फिल्ड बुक तथा नक्सा तयार गर्ने काम भइरहेको छ । सूचनामाथि कसैको दाबी विरोध नपरे गाउँकार्यपालिका हुँदै भूमि आयोगको निर्णयअनुसार जग्गाको पुर्जा वितरण गरिने सूचना अधिकारी पौडेल बताउनुहुन्छ ।
गढवा–१ को मलमलामा १०, वडा नं. २ को डाडाँगाउँमा दुई सय ७५, वडा नं. ३ को गोबरडियामा पाँच, वडा नं. ४ को गोविन्दनगरमा ११ र वडा नं. ५ को बाँकीमा आठ परिवारलाई पुर्जा वितरणका लागि अन्तिम चरणको काम भइरहेको छ । गढवामा पाँच हजार ९९४ परिवार अव्यवस्थित बसोवासी, एक हजार ९१ परिवार भूमिहीन सुकुम्वासी र भूमिहीन दलित ३१४ गरेर सात हजार ३९९ परिवारको निवेदन परेको छ । गढवामा नौ जना भूमिहीन दलित र सुकुम्वासी परिवारलाई गत साउनमा पुर्जा वितरण गरिएको थियो ।
जिल्लामा नापी भएका अधिकांश जग्गा वन क्षेत्रमा पर्ने, भूमिहीन दलित तथा सुकुम्वासीको तिनपुस्ते विवरण नभेटिनेलगायतका समस्या रहेपनि देउखुरीका लमही र गढवासँगै राप्ती र राजपुर गाउँपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई पुर्जा प्रदानका लागि तीव्र गतिमा काम भइरहेको भूमि समस्या समाधान आयोग दाङका सदस्य सचिव एवम् नापी कार्यालयका घोराहीका प्रमुख पुरण चौधरी बताउनुहुन्छ । सदस्य सचिव चौधरीका अनुसार लमही र राप्तीका नौ वडामध्ये आठ-आठ, गढवामा आठमध्ये सात र राजपुर गाउँपालिकामा सातमध्ये दुईवटा वडाको नापीको काम सकिएको छ ।
बबई गाउँपालिका, बङ्गलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, घोराही उपमहानगरपालिकामा लग सङ्कलन गरेर जग्गा नापजाँचदेखि नक्साङ्कनसम्मको काम भइरहेको छ । शान्तिनगर गाउँपालिका र तुलसीपुर उमहानगरपालिकामा भने अन्य पालिकाको तुलनामा ढिलाइ भइरहेको छ ।
दाङमा छ हजार ५०३ घरपरिवार भूमिहीन दलित, दस हजार ९९२ परिवार भूमिहीन सुकुम्वासी र ५२ हजार ३४ अव्यवस्थित परिवार गरेर ६९ हजार ५३२ परिवारले जग्गाको पुर्जाका लागि आयोग दाङमा निवेदन दिएका छन् । जसमध्ये हालसम्म ८१ हजार ३९१ बिघा १८ कट्ठा छ धुर अर्थात् ५५ हजार १२३ दशमलव ७९ हेक्टर जमिन अहिलेसम्म नापी भएको छ । भूमि समस्या समाधान आयोग दाङका विज्ञ सदस्य यज्ञनारायण आचार्यका अनुसार भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा दिनका लागि सात चरणको प्रक्रिया पूरा गर्नुपर्ने तर त्यस अनुसारको आवश्यक जनशक्ति नहुँदा काममा ढिलाइ भइरहेको बताउनुहुन्छ ।