गुणबहादुर रोका
सुलीकोट, भदौ १७ गते । गोरखामा बस दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
जिल्लाको भीभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश – ०१००६ ख ४१३९ नम्बरको रात्रिकालीन बस घुम्ती सडकमा दुर्घटना हुुँदा २६ जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार मङ्गलबार बिहान करिब ७ बजे रात्रिकालीन बस दुर्घटना हुँदा २६ जना घाइते भएका थिए भने घाइतेमध्ये दुई जना गम्भीर भएका थिए । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि काठमाडाैं रेफर गरिएको उहाँले बताउनुभयो ।
२४ जना घाइतेको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बस दुर्घटनामा घाइते हुनेहरुको विवरण खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।