• १७ भदौ २०८२, मङ्गलबार

बिजुलीको लाइन काटिदा डाडाँकोट बस्ति अन्धकारमा

blog

नेपाल विद्युत प्राधिकरणको कार्यालय । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), भदौ १७ गते ।
जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित डाडाँकोटगाउँ अन्धकार भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका कार्यालय प्रमुखको आदेशमा विद्युतको लाइन काटिएपछि डाडाकोटगाउँ अन्धकार भएको हो । सामान्य विवादलाई लिएर प्रमुखले गैरजिम्मेवार पूर्ण ढङ्गबाट डाडाँकोट गाउँको लाइन काट्न आदेश गरेको खुलेको छ ।

सोमबार विद्युत प्राधिकरणका कर्मचारी र डाडाँकोटगाउँका केही नागरिकबिच विवाद भएको थियो । त्यहि विवादले गाउँको लाइन काटिएको स्थानीय दिनेश सुनारले बताउनुभयो । गाउँमा विद्युत लाइन रिडिङका लागि विद्युतका कर्मचारी गाउँ गएको बेला केही नागरिकसँग विवाद भएको हो ।

विद्युतका कर्मचारी र गाउँका केही नागरिकबिच विवाद हुँदा प्राधिकरणकै प्रमुखको  आदेशमा विद्युत लाइन काटिएको भन्ने डाडाँकोटका नागरिकले गुनासो गरेका छन् । गाउँका केही व्यक्तिसँग विवाद हुँदा पूरै विद्युत लाइन काट्नु यो सरासर गाउँप्रति गर्ने व्यवहार नराम्रो रहेको स्थानीय दिनेश सुनारको गुनासो रहेको छ ।

विद्युत नहुँदा पूरै गाउँ अन्धकार भएको छ । रातिको समयमा भएकाले प्राधिकरणले विद्युत लाइन काट्दा अन्धकार भएको उहाँको भनाइ छ । जुम्ला बजार क्षेत्रका आसपासका झिलिमिलि छन् । डाडाकोट गाउँ भने अन्धकार छ । प्रमुख शाहले डाडाकोट गाउँमाथि ठाडो आदेश दिएर विद्युत काटेर अत्याचार गरेको स्थानीयको गुनासो छ ।

यता नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीका अनुसार गाउँमा विद्युतको लाइन रिडिङ् गर्न जाँदा गाउँको नागरिकले प्राधिकरणका कर्मचारीमाथि हातपात गर्दा यस्तो भएको बताउनुभयो । डाडाकोट गाउँमा बढी चोरी लाइन बाल्ने गरेकाफे पनि यस्तो विवाद भएको उनको भनाइ छ ।

प्राधिकरणका कार्यालय प्रमुख रामआशिष साहले घरको लाइन काटन नदिएपछि पूरै गाउँको लाइन काटिएको बताउनुभयो । लाइन काट्न गएका कर्मचारीमाथि डाँडाकोटका स्थानीयले गलत व्यवहार गरेको उहाँको भनाइ छ । गाउँका महिला र पुरुषको समूहले कर्मचारी माथि झमन्टिन आएपछि विकल्प नहुँदा गाउँको लाइन काट्न बाध्य भएका हौँ । काटिएको लाइन आजै जडान हुने साहले बताउनुभयो ।