• १६ भदौ २०८२, सोमबार

‘सरकार वातावरण सिर्जना गर्न प्रयासरत’

blog

काठमाडौँ, भदौ १६ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनुभएको छ । 

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारण सभाको आइतबार यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउन र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।”

उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवर्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराउनुभयो । उहाँले आफूले सरकार समाल्दा अर्थतन्त्रका सम्पूर्ण सूचक नकारात्मक भएको उल्लेख गर्दै सबै सूचकमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । 

त्यसै गरी उपप्रधानमन्त्री पौडेलले मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिन सक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्धनका योजना कार्यक्रम ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।” 

राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौँ ।” 

कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले व्यवसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।”

सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पु¥याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।