रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), भदौ १५ गते । मदन भण्डारी राजमार्ग अन्तर्गतको सिमलटारी–मच्छी खण्डको काम अलपत्र परेको छ । गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३१ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा पर्छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर प्रभात तिवारीले ३३ महिनाको सम्झौताभित्र निर्माण व्यवसायीले जम्मा २६ प्रतिशत भौतिक र २३ प्रतिशत आर्थिक प्रगति गरेको जानकारी दिनुभयो ।
राजमार्ग निर्माणका लागि श्रेष्ठ सक्षम जेभीले २०७९ कात्तिक ६ गते सम्झौता गरेको थियो । एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार नौ सय रुपियाँको राष्ट्रिय गौरवको योजना अलपत्र हुँदा स्थानीयवासी निराश छन् । लामो समय निर्माण व्यवसायी फिल्ड नै छोडेर सम्पर्कमा थिएनन् । चौतर्फी दबाब बढ्दा मदन भण्डारी राजमार्ग योजना कार्यालयले बैङ्क ग्यारेन्टी तान्ने प्रक्रिया अगाडि बढाएपछि निर्माण व्यवसायी सम्पर्कमा आएर अहिले पहिरो फाल्ने र केही संरचनाको काम गरिरहेको इन्जिनियर तिवारीले बताउनुभयो ।
पुसमा एक महिनाबाहेक कुनै समय कार्यालयले काम गरेको रकम नरोकेकाले निर्माण व्यवसायीले आफ्नै कारण पहिलो म्याद गुजारेर दोस्रो म्यादको प्रक्रिया अगाडि बढाएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बर्सातले काममा केही समस्या भए पनि काम गर्ने गरेर व्यवसायी फिल्डमै आएका छन् । अब काम तीव्र रूपमा अगाडि बढाउनुपर्ने छ ।”
निर्माण व्यवसायीले सडकमा नियमित काम नगरेका कारण स्थानीय तह पनि आलोचनाको पात्र बन्ने गरेका छन् । मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बस्ती, खेतबारी बगाउने, पुर्ने र खस्ने थुपै्र जोखिम बर्सातमा धेरै भएकाले स्थानीयले आफूहरूको निकै आलोचना गरिरहेको बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको कामको प्रगति अत्यन्तै न्यून भएका कारण स्थानीय मात्रै नभएर कार्यालयदेखि नेता र नेतृत्व तहको आलोचना भइरहेको छ । ठेकेदार राजनीतिक दलका नेता पनि भएकाले राजनीतिक दम्भका आधारमा काममा ढिलासुस्ती भइरहेको सरोकारवालाको गुनासो छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले कामको प्रगति निकै निराशाजनक रहेको बताउनुभयो ।
उहाँले तत्काललाई सडक अवरुद्ध हुन नदिन पहिरो हटाउने काम गर्न व्यवसायीलाई भनिएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम झट्ट हुने देखिँदैन । ३३ महिनाको लामो अवधिको प्रगति निकै कमजोर छ । जिल्लाभन्दा केन्द्रीयस्तरबाटै समस्या समाधानमा दबाब आवश्यक देखियो ।” गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत दुई खण्डमा काम भइरहेको छ । एकै पटक सम्झौता भएको रिडी–तम्घास खण्डमा रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रेको काम सम्झौता अनुसार धमाधम भइरहेको छ ।
सडकको प्रगति शून्य
सदरमुकाम तम्घासको मुख्य बजारसँग जोडिएकै देउराली–कमेरेपानी सडकको वर्ष दिनसम्म अलपत्र परेको छ । कालोपत्रे सकिएर चिल्लो बाटोमा कुद्ने आशा बोकेका स्थानीयले हिलो र धुलोको सास्ती भोगिरहेका छन् ।
स्थानीय पूर्वाधार विकास कार्यालय रुपन्देहीमार्फत २०८१ मङ्सिर २४ गते एक करोड नौ लाख रुपियाँमा निर्माण सम्झौता भएको रेसुङ्गा नगरपालिका–७, देउराली–कमेरेपानी सडक निर्माण व्यवसायीले वर्ष दिनमा दुई सय मिटर नाली मात्रै बनाएर छोडेका छन् ।
सडक निर्माणका लागि एसएन कन्स्ट्रक्सन चाँगुनारायण काठमाडौँले सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८२ जेठ १५ गतेभित्र काम सक्नु पथ्र्यो । स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर रमेश भण्डारीका अनुसार सम्झौता सकिएको तीन महिनासम्म शून्य प्रगति छ । बजेट हुँदा निर्माण व्यवसायीले काम गरेनन् । अहिले सोही शीर्षकमा बजेट छैन ।